• ४ चैत २०८२, बुधबार

लिमी कर्णालीमा ह्यूम पाइपबाट पुल निर्माण

blog

लिमीको टाक्चीको लिमी कर्णाली नदीमा ह्यूम पाइप विच्छ्याएर निर्माण गरिएको पुल । तस्बिर : राजन रावत

राजन रावत 

हुम्ला, चैत ४ गते । उत्तरी नाँम्खा गाउँपालिका-६ को हिमालपारीको गाउँ लिमीको ताक्चीमा रहेको लिमी कर्णाली नदीमा ह्यूम पाइपबाट यातायातका साधन आवतजावत गर्ने पुल निर्माण गरिएको छ । सधै बर्खायाममा नदीमा पानीको बहाब बढेपछि तीनदेखि चार महिना यातायातका साधन बन्द हुने गरेको कारण नदी ह्यूम पाइपबाट पुल निर्माण गरिएको हो । 

चार वर्ष अगाडीदेखि ताक्चीमा यातायातका साधन आवतजावत गर्ने पक्की पुल निर्माणका लागि माग राख्दै आएकोमा बल्ल ह्यूम पाईपबाट भएपनि पुल निर्माण गर्ने कार्य सम्पन्न भएको लिमीका वडा अध्यक्ष पाल्जोर तामाङ बताउनुभयो । 

ती ह्यूम पाइप गत मङ्सिर महिनामा सुर्खेतबाट ढुवानी गरेर निर्माण स्थलमा पुर्‍याइएकाे भएपनि त्यतिबेला सिमेन्टको काम नहुने भएपछि पुल निर्माण कार्य यतिबेला सम्पन्न भएको उहाँले बताउनुभयो । टाक्चीको लिमी कर्णाली नदीमा दुई वटा स्थान मध्य एउटामा पाँच वटा ह्यूम पाईप राखेर पुल निर्माण गरिएको छ भने अर्को स्थानमा तीन वटा ह्यूम पाइप राखेर पुल निर्माण गरिएको उहाँले बताउनुभयो । नदीको पानी छिर्ने गरेर ह्यूम पाईप नदीमा बिच्छ्याईएको छ र पाईपमाथि सिमेन्ट ढलान गर्ने कार्य गरिएको उहाँले बताउनुभयो । 

ह्यूम पाइपबाट एउटा गाडी सजिलैसँग वारपार गर्नसक्ने गरि पुल निर्माण गरिएको छ । पुल निर्माण कार्य १०४ जना कामदारले सम्पन्न गर्नुभएको हो । लिमीका तीन गाउँ र लाप्चा क्षेत्रबाट मानसरोवर कैलाशको दुरदर्शन गर्ने कार्य ह्यूम पाइपको पुल निर्माण पनि सहज भएको नाम्खा गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले बताउनुभयो । अब यो पुल निर्माणसँगै बर्खायामका तीन देखि चार महिना पनि लगातार यातायात सेवा सुचारु हुनेछ । 

यसअघि बर्खाका तीन महिना नदीमा पानीको बहाब बढेपछि यातायात सेवा बन्द हुने गरेको थियो । लिमी पुल निर्माण अघि लिमी कर्णाली नदीको पानी तरेर यातायातका साधनहरु वारपार गर्ने गर्थे । गाउँपालिका र पूर्वाधार विकास कार्यालयको लागत साझेदारीमा ४८ लाख रुपियाँमा सो पुल निर्माण गरिएको हो । यसमा गाउँपालिकाको पन्द्र लाख र बाँकी पूर्वाधार विकास कार्यालयबाट बजेटको व्यवस्था भएको हो ।