गोकुल भुजेल
भोजपुर, चैत्र ४ गते । चैत महिना सुरु भएदेखि क्रमशः चलेको हावाहुरी सहितको वर्षाले भोजपुरमा दुई जनाको मृत्यु भएको छ भने करोडौँको भौतीक संरचनामा क्षति पुर्याइएकाे छ । हावाहुरी सहित आएको पानीले जिल्लाभरीका स्थानीयको घर, गोठ, विद्यालय, सार्वजनिक सम्पत्तिमा ठुलो क्षति पुर्याएकाे हो ।
गत चैत २ गते दिउँसो हावाहुरी सहित पानीसँगै परेको चट्याङ लागेर षडानन्द नगरपालिका-९ किमालुङकी २५ वर्षीय सर्मिला तामाङको घटना स्थलमै मृत्यु भएको छ । त्यस्तै भोजपुर नगरपालिका ६ स्थायी ठेगाना भएका ३० वर्षीय आशिष तामाङको साल्पासिलिछो गाउँपालिका-५ दोभानेमा रुख सहित ढुङ्गा माटोले लागेर घटनास्थलमै मृत्यु भएको छ ।
हावाहुरीका कारण सशस्त्र प्रहरी बल ५ नं गुल्म टक्सारको ब्यारेक भवन, विद्यालय, स्वास्थ्य चौकी, सुन्तलेको टेलिफोन टावरसहित जिल्लाभरि १ सय ५० भन्दा बढी घर, गोठ, पसल, टहरा, सार्वजनिक संरचनाको छाना एंव संरचनामै क्षति हुँदा करिब १ देखि ५ करोडसम्म क्षति भएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी राजन पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार विपदमा परेका स्थानीयहरूलाई सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर राहत तथा उद्धार गर्नुका साथै प्रभावितहरूलाई छिमेकीको घरमा अस्थायी रुपमा बसोबासको व्यवस्था गरिएको छ ।
हावाहुरीसँगै परेको पानी र चट्याङको प्रभाव एंव क्षतिको विवरण सङ्कलन कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख राजु लामाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रारम्भिक तथ्याङ्क सङ्कलनको आधारमा हावाहुरी सहित परेको पानी र चट्याङले २ जनाको मृत्यु र करोड माथिको भौतीक क्षति भएको छ । अन्य विवरण सङ्कलनको कार्य जारी रहेको छ ।

त्यस्तै, जिल्लामा विगत तिन दिनदेखि विद्युत् प्रसारणमा समेत समस्या भएको छ । जिल्लाको भोजपुर र षडानन्द नगरपालिका, साल्पासिलिछो र टेम्केमैयुङ गाउँपालिकामा बत्ती बल्न सुरु भएको छ भने आमचोक, हतुवागढि, रामप्रसादराई र पौवादुङमा गाउँपालिकामा मर्मत सम्भारको काम भइरहेको विद्युत् वितरण केन्द्र भोजपुरका प्रमुख निरज कुमार शाहले जानकारी दिनुभयो ।
उहाँका अनुसार विद्युतको पोल ढलेर, रुख लढेर तथा तार चुडिएर विद्युत प्रवाहमा समस्या भएको छ। हाल, जिल्लाको अधिकाशं क्षेत्रमा बत्ती बल्न सुरु भएको छ भने नबलेको क्षेत्रमा बिहीबार वा केहि दिनभित्रमा बत्ती बाल्ने गरी निरन्तर कार्य भइरहेको छ ।