• ४ चैत २०८२, बुधबार

विद्यालयको भवन अलपत्र हुँदा पठनपाठन प्रभावित

blog

अलपत्र अवस्थामा छोडिएको श्री रम्बा देवी माता आधारभूत विद्यालयको भवन विहादी वहाँकी ४ पर्वत ।

प्रनिश गिरी

कुश्मा, पर्वत चैत ४ गते । पर्वतको विहादी गाउँपालिकाको एक आधारभूत विद्यालयको भवन अलपत्र हुँदा विद्यार्थीको पठनपाठन प्रभावित बनेको छ । श्री रम्बा देवी माता आधारभूत विद्यालयको पुरानो भौतिक संरचना जिर्ण भएपछि तीन वर्ष पहिले पक्की भवन बनाउन थालिएको हो । 

विहादी गाउँपालिका वडा ४ वहाकी लिम्सिङमा रहेकोे विद्यालयको भवन सम्पन्न नहुँदा विद्यार्थीहरु कष्टकर अवस्थामा अध्ययन गर्न बाध्य छन् । चार कक्षासम्म पढाइ हुने विद्यालयमा हाल १९ जना विद्यार्थीहरु पठनपाठन गर्दै आएको प्रअ शिवानी पुनले बताउनुभयो । विद्यार्थीहरुलाई भवनको भूँई तलाको टिनले बारिएको कोठामा पढाउँदै आइएको छ । विद्यालयको भवन बनाउन भनी स्थानीयबासीले निःशुल्क जग्गा प्रदान गरेका हुन् । 

स्थानीय अभिभावक ज्ञान प्रसाद भुषालका अनुसार वि.सं.२०४५ सालमा स्थापित विद्यालयको भवन जिर्ण भएपछि टिनको छाना भएको दुई कोठे भवन केही वर्ष पहिले बनाइएको थियो । भिरालो जग्गामा निर्माणाधीन भवनलाई पहिरोले पुरेपछि नयाँ पक्की भवन बनाउन थालिएको हो । विद्यालयको निर्माणाधिन भवन अलपत्र पारिएपछि विद्यार्थी संख्या समेत घट्न पुगेको स्थानीयको गुनासो छ। 

साना बालबालिकालाई टिनले बेरेको कोठामा राख्दा हावाहुरी आउँदा कतै टिन उडाएर घाइते बनाउँछ कि भन्ने चिन्ताले अभिभावक र शिक्षकलाई सताउने गरेको प्रअ पुनले दुःखेसो पोख्नुहुन्छ । वर्षायाममा पहिरोको डर, हिउँदमा हावाहुरीको त्रासले विद्यार्थीको सुरक्षित पढ्न पाउने अधिकार कुण्ठित गराउँदा समेत कसैको ध्यान पुग्न नसकेको स्थानीयबासीको गुनासो छ । 

विद्यालयकी प्रअ पुन भन्नुहुन्छ, "पटक पटक सम्वन्धित निकायमा ध्यानाकर्षण गराए पनि समस्या समाधान हुन सकेको छैन । कक्षाकोठामा वेन्च टेबुल छैन । फर्निचर र शैक्षिक सामग्री अभावले कार्यालय  व्यवस्थित छैन । विद्यालयमा पिउने पानीको समेत सुविधा छैन । दिशापिसावका लागि चर्पीको व्यवस्था छैन ।"

पालिकाका शिक्षा शाखा प्रमुख भीम बहादुर नेपालीले विद्यालयको दयनीय अवस्थाबारे जानकार हुँदाहुँदै पनि आर्थिक अभावले केही गर्न नसकिएको बताउनुभयो । शिक्षा शाखा प्रमुख नेपालीका अनुसार तीन वर्षपहिले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत शिक्षा मन्त्रालयबाट विनियोजित ३६ लाख रकम खर्चिएर भवन निर्माणको कार्य थालिएको थियो । 

विद्यालयमा हाल स्थायी दुई जना शिक्षक साथै अस्थायी राहत करार दरवन्दी, बालशिक्षा सहजकर्ता सहित कार्यलय सहयोगी गरी छ जना जनशक्ति कार्यरत छन् ।