काठमाडौँ, चैत ४ गते । राष्ट्रपति रामचन्द्र पौडेल नेपाली सेनाद्वारा घोडेजात्रा–२०८२ का अवसरमा बुधबार सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक हुनुभएको छ । सो अवसरमा नेपाली सेनाको एक टोलीले राष्ट्रपतिको सम्मानमा सलामी अर्पण गरेको थियो ।
समारोहमा राष्ट्रपति पौडेलले नेपाली सेनाद्वारा प्रदर्शन गरिएको अश्वकलाको रुचिपूर्वक अवलोकन गर्नुभयो । त्यसक्रममा सेनाका तर्फबाट टाँगन घोडा दौड, शो–जम्प, म्युजिकल राइड, र्यापिड क्रस र विभिन्न रोचक कलाहरू प्रदर्शन गरिएका थिए । प्रदर्शनका विभिन्न विधामा उत्कृष्ट हुने सातौँ र छैटौँ स्थान प्राप्त गर्ने अधिकृत तथा जवानलाई राष्ट्रपति पौडेलले पुरस्कार प्रदान गर्नुभयो ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, मन्त्रीगण, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिका साथै उच्च पदस्थ सरकारी अधिकारीको उपस्थिति रहेको थियो ।
चैत्र कृष्ण औंसीका अवसरमा परापूर्वकालदेखि नै काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व विविध कार्यक्रमका साथ मनाउने गरिन्छ । टुँडिखेलमा घोडा दौडाउँदा 'गुरुमापा' नामक राक्षसको आत्मा कुल्चिने र सहरमा सुख-शान्ति कायम हुने जनविश्वास रहिआएको छ ।









