धर्बेन्द्र झा
जनकपुरधाम, चैत ४ गते । मधेश प्रदेश सरकारका गृह सञ्चार तथा कानूनमन्त्री फकिरा महतोले मधेश प्रदेशको राजधानी जनकपुरधामको सडक फुटपाथ खाली गराउन बुधबारदेखि अभियान सञ्चालन गर्नुभएको छ ।
जनकपुरधाम उपमहानगरपालिका, जनकपुरधाम उद्योग बाणिज्य संघसहितका सम्बन्धित सरोकारवाला निकायसँगको समन्वयमा सडक फुटपाथ खाली गराउन अभियान सञ्चालन गरिएको मन्त्री महतोले जानकारी दिनुभयो ।
मन्त्री महतोका अनुसार आज पहिलो दिन जानकी मन्दिर, राजदेवी मन्दिर, जनक मन्दिर र सोनारपट्टी क्षेत्रमा सडक फुटपाथमा राखिएका सामग्री एवम साना पसलहरु खाली गर्न व्यवसायीलाई अनुरोध गरिएकोमा उनीहरु स्वतःस्फुर्तरुपमा सकड फुटपाथ खाली गरेको बताउनुभयो ।
उहाँले पहिलो चरणमा सडक फुटपाथ खाली गर्नका लागि अनुरोध गरिएको र त्यसको वास्ता नगरिएमा कानूनअनुसार कारवाही प्रक्रिया अगाडि बढाउने बताउनुभयो । सडक फुटपाथमा सहज रुपमा आवत–जावत गर्ने जनताको अधिकार भएको भन्दै बजार क्षेत्रमा स–सानादेखि ठुला व्यपारीसम्म सडक फुटपाथ कब्जागरी बसेकाले सम्बन्धित सरोकारवाला निकायहरुसँगको समन्वयमा सडक फुटपाथ खाली गराउने कार्यको सुरुवात गरेको बताउनुभयो ।
मन्त्री महतोले जनकपुरधाम धार्मिक तथा एतिहासिक नगरी भए पनि यसको समुचित व्यवस्थापन नभएको कारण आमनागरिकलाई समस्या हुनेगरेको बताउनुभयो । पर्यटकहरुमा जनकपुरधामप्रतिको धारणा नकारात्मक बन्ने गरेको भन्दै उहाँले जनकपुरधाम सहर व्यवस्थापन सुधार प्रस्ताव तयार गरी सरोकारवाला निकायसँगको छलफल पश्चात अभियान चलाइएको बताउनुभयो ।
अभियानमा सक्रिय रहनुभएका जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले मधेश प्रदेशका गृह, सञ्चारमन्त्रीले सुरु गरेको अभियान सराहनीय रहेको भन्दै आज जनकपुरधामको जानकी मन्दिर, राजदेवी मन्दिर, जनक मन्दिर आसपासको क्षेत्रमा आम नागरिकलाई अनुरोध गर्दै सडक फुटपाथ खाली गराइएको र अगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिने बताउनुभयो ।