तोकिएका सम्भावित पाँच वटा पूर्वअनुमानयोग्य कार्यालय सफ्टवेयर प्रणालीले नै देखाउने गरी निर्माण गरिएको छ । त्यही आधारमा कार्यालय छनोट गरी कर्मचारीको सरुवा हुने व्यवस्था गरिने भएको छ ।
काठमाडौँ, चैत ४ गते । सरकारले कर्मचारीको सरुवा प्रणालीलाई पूर्णतः प्रविधिमैत्री बनाई कार्यान्वयन गर्ने अन्तिम तयारी गरेको छ । कर्मचारी सरुवामा सधैँ आलोचना हुँदै आएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अबदेखि कर्मचारी सरुवाको दिगो समाधान गर्न लागेको हो । नयाँ आउने सरकारले कर्मचारी सरुवामा अल्झन नपर्ने गरी कर्मचारी सरुवा प्रणालीलाई प्रविधिमैत्री बनाएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
उक्त सफ्टवेयर कार्यान्वयनमा आएपछि कुनै पनि कर्मचारीले सरुवाको निवेदनको फाइल लिएर मन्त्रालय धाउनु नपर्ने र आगामी दिनमा कर्मचारीले तोकिएका सम्भावित पाँच वटा पूर्वअनुमानयोग्य कार्यालय सफ्टवेयर प्रणालीले नै देखाउने गरी सफ्टवेयरको निर्माण गरिएको छ । त्यही आधारमा कार्यालय छनोट गरी कर्मचारीको सरुवा हुन्छ ।
मन्त्रालयका प्रशासन महाशाखा प्रमुख एवं सहसचिव पार्वती शर्माले सफ्टवेयर कार्यान्वयनमा आएपछि कर्मचारीको सरुवाको प्रारम्भिक काम नै अनलाइन निवेदनबाट सुरु हुने बताउनुभयो । उहाँका अनुसार मन्त्रालयले यसअघि नै सफ्टवेयर निर्माण गरे पनि विविध कारणले कार्यान्वयनमा भने आउन सकेको थिएन ।
शर्माले भन्नुभयो, “कर्मचारी सरुवाको सुरुवात भनेको अनलाइनको निवेदनको सुरुवातीबाट हुन्छ । कतिपय कर्मचारी चाहिँ अनलाइन निवेदन दिए पनि पुनः निवेदन लिएर भौतिक रूपमा मन्त्रालयमा आउने गरेका छन् । हामी भौतिक निवेदनमा नै अभ्यस्त भएकाले त्यही बानी परेको छ । त्यसमा अब क्रमिक रूपमा सुधार आउँछ ।”
कर्मचारी सरुवामा सधैँ भनसुन गर्नुपर्ने, पहुँच हुने कर्मचारी सुगम कार्यालयमै र पहुँचविहीन दुर्गम क्षेत्रका कार्यालयमा नै बस्नुपर्ने बाध्यताको अन्त्य गर्न मन्त्रालयले कर्मचारी सरुवा सफ्टवयेरलाई कार्यान्वयनमा ल्याई सरुवा प्रणालीको व्यवस्थापन गर्न लागेको हो । सबै कर्मचारीले अनलाइनका माध्यमबाट निवेदन दिन सक्छन् कि सक्दैनन्, त्यो पनि परीक्षणकै क्रममा रहेको छ ।
निर्वाचन आयोगले आचारसंहिता खुला गरेपछि सरकारले कर्मचारी सरुवा गरेको छैन । अब सफ्टवेयरलाई परीक्षण गरेपछि व्यावहारिक रूपमा सफ्टवेयरबाटै कर्मचारी सरुवा गर्ने तयारी गरिएको छ । कर्मचारीको नियुक्ति, सरुवा, बढुवा र वृत्ति विकासका जति पनि काम मन्त्रालयले गर्छ ती सबै काम अब सफ्टवेयरबाट गर्ने गरी प्रणालीको विकास गरिएको शर्माले स्पष्ट पार्नुभयो ।
किताबखाना र मन्त्रालयबिच समझदारी
मन्त्रालय र राष्ट्रिय किताबखाना (निजामती) बिच २४ घण्टाभित्र सरुवा भएका कर्मचारीको विवरणको सूचना आदानप्रदानका लागि समझदारी भइसकेको छ । उक्त सफ्टवेयर प्रणाली स्वचालित रूपमा राष्ट्रिय किताबखाना (निजामती) मा २४ घण्टाभित्र अपडेट हुने गरी किताबखानासँग अन्तरआबद्धता गरिएको छ । मन्त्रालय र किताबखानाबिच सरुवा, बढुवासम्बन्धी निर्णय कर्मचारीको व्यक्तिगत विवरण प्रणाली (पिआइएस) मा स्वतः अद्यावधिक हुने गरी एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस (एपिआई) विकासमार्फत सूचना साझेदारी गर्ने समझदारी भएको हो ।
किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेलले समझदारी अनुसार सरुवा, बढुवालगायत कर्मचारी प्रशासनसम्बन्धी निर्णयका लागि आवश्यक तथ्य र तथ्याङ्क राष्ट्रिय किताबखानाले उपलब्ध गराउने बताउनुभयो । मन्त्रालयले गरेका निर्णय भने एपिआईमार्फत स्वतः पिआइएस प्रणालीमा अपडेट हुने व्यवस्था गरिने छ । पोखरेलका अनुसार दुवै निकायका प्राविधिक टोलीले संयुक्त रूपमा विकास गरिरहेको कर्मचारी व्यवस्थापन प्रणाली (सफ्टवेयर) प्रयोगमा ल्याउने छ । सार्वजनिक सेवालाई प्रविधिमा आधारित फेसलेस र पेपरलेस प्रणालीतर्फ उन्मुख बनाउन सरुवा सफ्टवेयर व्यावहारिक रूपमा कार्यान्वयन हुन लागेको हो ।
कर्मचारीमा उत्साह
लोक सेवा आयोगको परीक्षा पास गरी उत्साहका साथ निजामती सेवामा प्रवेश गरेका कर्मचारीको एकाध वर्षमै सरुवा झन्झटिलो बन्दा कर्मचारी निराश बन्दै आएका थिए । मन्त्रालयले सफ्टवेयरबाट कर्मचारी सरुवा गर्ने तयारी गरेसँगै कर्मचारीमा भने उत्साह थपिएको छ । कर्मचारी सरुवा व्यवस्थापन सफ्टवेयरद्वारा हुन लागेपछि कर्मचारी सरुवामा निष्पक्षता र तटस्थता कायम हुने विश्वास कर्मचारीमा बढ्दै गएको छ ।
नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष अम्बादत्त भट्टले कर्मचारीको सफ्टवेयरबाट सरुवा हुँदा सरुवा प्रणाली चक्रीय, पूर्वानुमानयोग्य र पारदर्शी हुँदा आमकर्मचारीले त्यसलाई स्वागत गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “कुनै पनि कर्मचारीलाई कम्तीमा दुई कार्यकाल आफ्नो कहाँ सरुवा हुँदै छ भन्ने अग्रिम जानकारी भयो भने घरपरिवार रेखदेख र बालबच्चा पढाउने विद्यालयसमेत तय गर्न सक्ने भएकाले त्यसले सेवाग्राहीलाई सेवा प्रवाहमा समेत सहजता ल्याउन सहयोग पुग्छ ।”