गोकर्ण दयाल
बैतडी, वैशाख १७ गते । जिल्ला प्रशासन कार्यालय बैतडीले सेवाग्राहीको राहदानी घरमै पुर्याउने गरी हुलाकसँग सम्झौता गरेको छ। उक्त सेवा बुधबारदेखि लागू गरिएको हो। जिल्ला प्रशासन कार्यालयबाट मासिक रूपमा तीन सयभन्दा बढी सेवाग्राहीले राहदानी बनाउने गरेका छन्।
बुधबारदेखि सेवाग्राहीको राहदानी घरमै पुर्याइने प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले बताउनुभयो। यसबाट सेवाग्राहीको समय र आर्थिक भार दुवै बचत हुने उहाँको भनाइ छ।
पञ्चेश्वर र सिगास गाउँपालिकाबाट सदरमुकाम पुग्न सेवाग्राहीलाई तीनदेखि चार हजार रुपियाँसम्म गाडी भाडा लाग्ने गर्दछ। बैतडी सदरमुकामबाट पञ्चेश्वर पुग्न मात्र करिब एक हजार पाँच सय रुपियाँ खर्च हुने गरेको छ। राहदानी बनाउन दुई पटक आवतजावत गर्दा सेवाग्राहीले कम्तीमा छ हजार रुपियाँसम्म खर्च गर्नुपर्ने अवस्था रहेको छ।
सेवाग्राहीले घरमै राहदानी पुर्याउने सेवा लिँदा ५५ रुपियाँ मात्र शुल्क तिर्नुपर्ने जिल्ला हुलाक कार्यालय बैतडीका प्रमुख प्रकाश कार्कीले जानकारी दिनुभयो। उहाँका अनुसार यस सेवाले हुलाक कार्यालयलाई पुनः सक्रिय बनाएको छ।
पालिका हुलाकमा कर्मचारी खटाइयो
जिल्ला प्रशासन कार्यालयले राहदानी घरमै पुर्याउने सेवा सुरु गरेसँगै जिल्ला हुलाक कार्यालयमा काजमा बसेका कर्मचारीलाई पालिका हुलाक कार्यालयमा खटाइएको छ। प्रमुख कार्कीका अनुसार शिवनाथ गाउँपालिकाको सुल्खेलाख र सूर्नया गाउँपालिकाको मुलखटालीस्थित हुलाक कार्यालयमा कर्मचारी खटाइएको छ।
जिल्लाका १० वटै स्थानीय तहमा पालिका हुलाक कार्यालय रहेका छन्, जहाँ एक जना खरदार र दुई जना हलकारा रहने व्यवस्था गरिएको छ। जिल्ला प्रशासनबाट प्राप्त राहदानीहरू हुलाक वस्तु सरह ढुवानी गरिनेछ। राहदानीको तौलअनुसार शुल्क लाग्ने भए पनि एउटा राहदानीका लागि ५५ रुपियाँ शुल्क निर्धारण गरिएको छ।
सेवाग्राहीले राहदानी फाराम भर्दा नै घरको ठेगाना उल्लेख गर्नुपर्नेछ। वैशाख १६ गतेपछि फाराम भर्ने सेवाग्राहीले मात्र यो सेवा पाउनेछन्। पुराना सेवाग्राहीका हकमा आवश्यक विवरण नभएकाले नयाँ सेवाग्राहीले मात्र सेवा लिन सक्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। घरमै राहदानी प्राप्त हुने व्यवस्था लागू भएपछि सेवाग्राहीहरू खुसी भएका छन्।