• १७ वैशाख २०८३, बिहिबार

अलपत्र पुलप्रति सांसद पटेलको चासो

blog

अलपत्र पुलको अनुगमन गर्नुहुँदै रौतहट–३ का सांसद रवीन्द्र पटेल। तस्बिरः प्रवीण कुमार शर्मा

प्रवीण कुमार शर्मा
रौतहट, वैशाख १७ गते ।
रौतहट क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य रवीन्द्र पटेलले वर्षौँदेखि अलपत्र अवस्थामा रहेका पुलहरूको तत्काल निर्माण कार्य सुचारु गराउन निर्माण कम्पनीलाई निर्देशन दिनुभएको छ। कुनै पनि बहानामा पुल निर्माण कार्य रोक्नु स्वीकार्य नहुने बताउँदै उहाँले समयमै काम सम्पन्न नगर्ने निर्माण कम्पनीको ठेक्का रद्ददेखि कारबाहीसम्मको प्रक्रिया अघि बढाउन पहल गर्ने बताउनुभयो।

बुधबार आफ्नो निर्वाचन क्षेत्रमा लामो समयदेखि अधुरो अवस्थामा रहेका दर्जनभन्दा बढी पुलहरूको स्थलगत निरीक्षण गर्दै सांसद पटेलले सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख, निर्माण व्यवसायी, प्राविधिक टोली र स्थानीय बासिन्दासँग संयुक्त रूपमा छलफल गर्नुभयो। निरीक्षणपछि उहाँले भन्नुभयो, “अब बहाना होइन, परिणाम चाहिन्छ।”

वर्षायाममा पुल नहुँदा खोला तर्नुपर्ने बाध्यता, दुर्घटनाको जोखिम र जनधनको क्षतिलाई गम्भीर विषयका रूपमा उठाउँदै उहाँले निर्माण कम्पनीहरूलाई जिम्मेवार बन्न आग्रह गर्नुभयो। करोडौँका योजना अलपत्र छाडेर जनतालाई सास्ती दिने प्रवृत्ति अब स्वीकार्य नहुने उहाँले स्पष्ट पार्नुभयो।

अनुगमनका क्रममा कोठियार–ब्रह्मटोल, रंगपुरस्थित लमहा (गुजरा) खोला पुल २०७३ सालदेखि निर्माणाधीन भए पनि हालसम्म करिब ५० प्रतिशत मात्र भौतिक प्रगति भएको पाइएको छ। त्यस्तै, पिपरिया स्थित तरही खोला पुलमा करिब ४५ प्रतिशत मात्र भौतिक प्रगति रहेको छ। २०८० असारमै सम्पन्न हुनुपर्ने हर्साहा चोक–चन्द्रनिगाहपुर सडक खण्डअन्तर्गत पर्ने नमाहा खोला पुलको भौतिक प्रगति हालसम्म ४५ प्रतिशतमा सीमित रहेको छ।

निर्माण व्यवसायीहरूले अप्रत्याशित आर्थिक बोझ, बजेट अभाव तथा मूल्यवृद्धिलाई ढिलाइको मुख्य कारण बताउँदै आएका छन्। तर सम्बन्धित निकायको प्रभावकारी अनुगमन नहुँदा र कमजोर समन्वयका कारण पुलहरू अलपत्र बनेको स्थानीयको गुनासो छ।

स्थानीयका अनुसार पुल निर्माण नहुँदा वर्षायाममा खोला तर्दा ज्यान जोखिममा पर्ने, विद्यार्थी, बिरामी तथा दैनिक यात्रुहरू समेत प्रभावित हुने गरेका छन्।