मुसीकोट समाचारदाता
रुकुमपश्चिम, वैशाख १७ गते । रुकुमपश्चिमको चौरजहारीमा नयाँ सहर निर्माण अन्तर्गत विकास गरिएका घडेरीको अस्थायी लालपुर्जा जग्गाधनीलाई वितरण गर्ने काम अन्तिम चरणमा पुगेको छ । नयाँ सहर आयोजना कार्यालय चौरजहारीले जग्गा विकास तथा एकीकरण कार्यक्रम अन्तर्गत चौरजहारी नगरपालिका–१, घारीगाउँमा विकसित घडेरीको अस्थायी लालपुर्जा वितरण अन्तिम चरणमा रहेको जनाएको हो ।
आयोजना प्रमुख इन्जिनियर गौरी पण्डितका अनुसार स्थानीयको जग्गामा एक हजार १८९ कित्ता घडेरी तयार भएका छन् । वि.सं. २०७२ सालमा स्थापना भएको नयाँ सहर आयोजना कार्यालयले विभिन्न अवरोध समाधान गर्दै घडेरी वितरणको काम अन्तिम चरणमा ल्याएको जनाएको छ । विकसित घडेरी निर्माणका लागि २०७८ मा ठेक्का खोलेर काम सुरु भएको थियो । आयोजना प्रमुख पण्डितले करिब ६५० जना स्थानीयको ५८५ रोपनी जग्गामा घडेरी निर्माण गरिएको बताउनुभयो । निर्माण गरिएका एक हजार १८९ कित्तामध्ये ११ वटा कित्ता बैङ्कद्वारा रोक्का रहेका छन् । बैङ्कको सहमति तथा कित्ताकाटका लागि फाइल पेस भइसकेकाले उक्त समस्या समाधान हुनेबित्तिकै अस्थायी पुर्जा वितरण हुने आयोजना कार्यालयले जनाएको छ । बैङ्कको सहमतिमा अदालतबाट अनुमति प्राप्त गर्नेबित्तिकै नापी र मालपोत कार्यालयको समन्वयमा विकसित घडेरीको अस्थायी पुर्जा वितरण हुने छन् । स्थायी लालपुर्जा भने मालपोत कार्यालयले उपलब्ध गराउने छ ।
अस्थायी पुर्जा वितरणको कामपछि यस क्षेत्रमा घडेरी बिक्रीवितरण हुने, सहरोन्मुख घर निर्माण हुने अपेक्षा स्थानीयको रहेको छ । आयोजना कार्यालयका सूचना अधिकारी दलबहादुर विकले घडेरी निर्माणपछि व्यवस्थित नाला, विद्युत्लाइन विस्तार, खानेपानीको लाइन व्यवस्थालगायत आधारभूत आवश्यकताका काम नियमित हुने जानकारी दिनुभयो ।
सरकारले घोषणा गरेको १० नयाँ सहर अन्तर्गतको चौरजहारी क्षेत्र सानो उपत्यकाका रूपमा रहेको छ । यहाँ आयोजना कार्यालयले सभा हल, कभर्ड हल, डम्पिङ साइट, कृषि उपज सङ्कलन केन्द्र निर्माण गरिरहेको छ । हालसम्म कार्यालयले यस क्षेत्रमा बसपार्क, सेवा केन्द्र भवन निर्माण गरेको छ भने विभिन्न सडकको निर्माण, कालोपत्रेलगायतका कामसमेत सम्पन्न गरेको छ । आयोजनाका सूचना अधिकारी विजकले हालसम्म ५७.१ किलोमिटर सडकको ट्र्याक खोल्ने, स्तरोन्नति र ग्राभेल गर्ने काम सम्पन्न भएको र ११.४ किलोमिटर सडक कालोपत्रे गरिएको जानकारी दिनुभयो । त्यसै गरी २.२ किलोमिटर सडक ढलान गरिएको, ४२० मिटर सडक क्षेत्रमा सोलिङ गरिएको र ३१.७ किलोमिटर नाली निर्माणको काम पनि पूरा गरिएको छ ।