• १७ वैशाख २०८३, बिहिबार

पर्यटकको मुख्य गन्तव्य ‘रेसुङ्गा पार्क’

blog

गुल्मीको धार्मिक, ऐतिहासिक एवम् पर्यटकीय स्थल रेसुङ्गा क्षेत्रको गर्जुरास्थित ‘रेसुङ्गा पार्क’ । तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा 
गुल्मी, वैशाख १७ गते।
गुल्मीको धार्मिक, ऐतिहासिक एवम् पर्यटकीय स्थल रेसुङ्गा क्षेत्रको गर्जुरास्थित ‘रेसुङ्गा पार्क’ आन्तरिक पर्यटकको आकर्षणसँगै मुख्य गन्तव्य बनेको छ। जैविक विविधताको संरक्षण गर्दै निर्माण गरिएको यस पार्कले प्राकृतिक सौन्दर्य, शान्त वातावरण र वनभोज स्थलका कारण पर्यटकलाई आकर्षित गरेको हो।

करिब ३ दशमलव ९६ हेक्टर क्षेत्रफलमा फैलिएको पार्क संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र रेसुङ्गा नगरपालिकाको साझेदारीमा ६ करोडको लागतमा निर्माण गरिएको हो। पार्क निर्माण भएको छोटो समयमै पार्कले उत्साहजनक रुपमा आन्तरिक एवम् वाह्य पर्यटकहरुलाई आकर्षित गर्दै गएको छ। गर्जुरा क्षेत्रबाट देखिने निकै सुन्दर हिमशृङखला र मनमोहक रमणीय वनजङ्गलले त्यहाँ पुग्ने जोकोही पर्यटकहरुको मन लोभ्याउँछ।

यहाँबाट विशेषगरी धौलागिरी रेन्ज, अन्नपूर्ण रेन्ज, माछापुच्छ्रे, मनास्लुलगायतका विभिन्न हिमाल देख्न सकिन्छ। पार्क प्रवशेका लागि रेसुङ्गा नगरपालिकाले टिकट प्रणाली लागू गरी आन्तरिक रुपमा राजश्व समेत सङ्कलन गरिरहेको छ। पार्कभित्र भ्युटावर, पीङ, पिकनिक ट्रस, फोटोग्राफी जोन, बच्चा बच्चीको लागि प्ले जोन, पिकनिक स्पोर्ट, शौचालय, टिकट काउन्टर, विभिन्न जनावरका आकृति देखिने फोहोर मैला फाल्ने डस्टबिन लगायत निर्माण गरिएको छ।

पार्कमा प्रवेशका लागि भिन्ना भिन्नै शुल्क निर्धारण गरिएको छ। जसअनुसार नेपाली नागरिकका लागि ४० रुपियाँ, ज्येष्ठ नागरिक, विद्यार्थी तथा १५ वर्ष तलका बालबालिकाका लागि २० रुपियाँ र विदेशी नागरिकका लागि १०० रुपियाँ तोकिएको छ। हालसम्म करिब २४ हजार ८१ जनाले पार्कको प्रत्यक्ष रुपमा अवलोकन गर्नुभएको पार्कका कर्मचारी नविन कुँवरले जानकारी दिनुभयो। उहाँका अनुसार नौ लाख ६४ हजार ३०० रुपियाँ बराबरको राजस्व सङ्कल भएको छ। 

रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले पार्कले जिल्लामा पर्यटन प्रवदर्धनमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उहाँका अनुसार रेसुङ्गा क्षेत्रको धार्मिक, ऐतिहासिक, पर्यटन र प्राकृतिक महत्वलाई उजागर गर्दै जिल्लामा धेरैभन्दा धेरै आन्तरिक तथा वाह्य पर्यटक भित्राउने उद्देश्यले पार्क निर्माण गरिएको हो। रेसुङ्गा पार्कले तम्घास बजारको चहलपहल बढाउनुका साथै स्थानीय आर्थिक गतिविधिमा पनि टेवा पुग्ने अपेक्षा गरिएको छ।