• १७ वैशाख २०८३, बिहिबार

बाँकेमा डढेलो नियन्त्रणका लागि ‘आगो नियन्त्रण दस्ता’ सक्रिय

blog

डिभिजन वन कार्यालय बाँकेको परिसर। तस्बिरः सिराज खान

सिराज खान
नेपालगञ्ज, वैशाख १७ गते ।
बाँके जिल्लाका विभिन्न सरकारी तथा सामुदायिक वनमा डढेलो लाग्न थालेपछि सो नियन्त्रणका लागि गठन गरिएको ‘आगो नियन्त्रण दस्ता’ सक्रिय रूपमा परिचालन गरिएको छ।

डिभिजन वन कार्यालय बाँकेले जिल्लाका विभिन्न वन क्षेत्रमा हरेक वर्ष लाग्ने डढेलो नियन्त्रण गर्न १४ जनाको ‘आगो नियन्त्रण दस्ता’ गठन गरी आवश्यक तालिमसहित तयारी अवस्थामा राखेको थियो।

हाल जिल्लाका १४ वटा वन क्षेत्रमा डढेलो लागेको र सो नियन्त्रणका लागि सामुदायिक वनका पदाधिकारी तथा उपभोक्तासँगै आगो नियन्त्रण दस्ता पनि सक्रिय रूपमा खटिएको डिभिजन वन कार्यालय बाँकेका प्रमुख शंकरप्रसाद गुप्ताले बताउनुभयो।

उहाँका अनुसार डढेलो जोखिम क्षेत्र पहिचान गरी नियन्त्रणका लागि दस्ता परिचालन गरिएको हो। विशेष गरी शम्शेरगञ्ज क्षेत्र र सिक्टा सब डिभिजन वन कार्यालयअन्तर्गतको भूवरभवानी चक्ला वन क्षेत्रमा आगो नियन्त्रण दस्ता सक्रिय रूपमा खटिएको उहाँले जानकारी दिनुभयो।

डढेलो नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रमसहित विभिन्न गतिविधि सञ्चालन भइरहेको र वन उपभोक्ता महासंघसँगको समन्वयमा कार्यक्रम अघि बढाइएको उहाँले बताउनुभयो। साथै दुई हजार लिटर क्षमताको ट्याक्टर–आधारित वारुणयन्त्र पनि तयारी अवस्थामा राखिएको छ।

प्रमुख गुप्ताले भन्नुभयो, “हामीसँग उपलब्ध स्रोत र साधनका आधारमा डढेलो नियन्त्रणका लागि निरन्तर प्रयासरत छौँ। आगलागी भएको स्थानमा पुगेर दस्ताले आगो नियन्त्रण तथा उद्धारका काम गरिरहेको छ।”

उहाँका अनुसार जिल्लामा नियुक्त ‘अग्नि नियन्त्रण हेरालु’ ले पनि आगलागी रोकथाममा योजनाबद्ध रूपमा काम गरिरहेका छन्। शम्शेरगञ्ज र सिक्टा सब डिभिजन वन कार्यालयअन्तर्गतका क्षेत्रमा छ÷छ जना अग्नि नियन्त्रण हेरालु परिचालन गरिएको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ।

कार्यालयका अनुसार प्रमुख अग्नि नियन्त्रण हेरालुले फायरलाइन सफा गर्ने तथा यसको संरक्षण गर्ने काम गर्दै आएका छन्। जिल्लामा १०० किलोमिटर फायरलाइन रहेकोमा हाल त्यसलाई विस्तार गरी १२० किलोमिटर पुर्‍याइएको छ।

शम्शेरगञ्ज क्षेत्रमा २५ लाख रुपैयाँको लागतमा २० हजार लिटर क्षमताको ‘ओभरहेड वाटर ट्याङ्क’ समेत निर्माण गरिएको छ, जसले डढेलो नियन्त्रणमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।

डिभिजन वन कार्यालय बाँकेका अनुसार हाल जिल्लाका सरकारी र सामुदायिक गरी १४ वटा वनमा लागेको डढेलोले करिब ४ हजार ५०० हेक्टर वन क्षेत्र प्रभावित भएको छ।