ठाकुरप्रसाद आचार्य
म्याग्दी, वैशाख १७ गते । म्याग्दीको धवलागिरी गाउँपालिका-१, गुर्जाको जनकल्याण माध्यमिक विद्यालयको छानो हावाहुरीले उडाएपछि पठनपाठन प्रभावित भएको छ । बुधबार दिउँसो परेको पानीसँगै हावाहुरीले जस्तापाताले छाएको कक्षा कोठा भवनको छाना उडाएपछि पठनपाठन प्रभावित भएको हो ।
हावाहुरीले विद्यालयको कक्षाकोठा, कार्यालय, पुस्तकालय, स्मार्टबोर्ड र विज्ञान प्रयोगशाला भएको ६ कोठे भवनको जस्तापाताको छाना हुरीबतासले उडाएपछि पठनपाठन प्रभावित भएको गुर्जाका वडा सदस्य गुनराम छन्त्याल बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘हावाहुरीले विद्यालयको छाना उडाउँदा पठनपाठन प्रभावित भएको छ । जस्तापाता र भाटाहरू काम नलाग्ने गरी क्षति पुगेको छ । कक्षाकोठाको वाल समेत भत्किएको छ ।’’
करिब पाँचलाख रुपियाँभन्दा बढीको क्षति पुगेकाले विद्यालयले तत्काल मर्मतसम्भार गर्न कठिन हुने उहाँले बताउनुभयो । मर्मतसम्भारका लागि गाउँपालिकालाई अनुरोध गरेको उहाँको भनाइ छ । हावाहुरीले विद्यालयको कार्यालयमा रहेका कागजपत्र पनि उडाएको छ । कक्षा १० सम्मको पठनपाठन हुने उक्त विद्यालयमा करिब दुई सय विद्यार्थी अध्ययनरत छन् । छानो उडाएपछि कक्षा सञ्चालन गर्न कोठाको अभाव भएको विद्यालयले जनाएको छ ।