सिराज खान
नेपालगन्ज, वैशाख १७ गते । सुनर इभेन्ट प्रालि बाँकेको आयोजनामा नेपालगन्जमा पहिलो पटक राष्ट्रियस्तरको रात्रिकालीन खुला क्रिकेट प्रतियोगिता हुने भएको छ ।
नेत्रहीन विद्यार्थीको सहयोगार्थ आयोजना गरिने सो प्रतियोगिता यही वैशाख २५ गतेदेखि नेपालगन्ज बसपार्क नजिक, विद्युत प्राधिकरणको परिसर छेउमा रहेको खेल मैदानमा सञ्चालन गरिने सुनर इभेन्ट प्रालिका अध्यक्ष नरपतिनाथ योगीले बताउनुभयो । उहाँले खेलबाट बचत हुने रकम नेत्रहीन विद्यार्थीहरूको शैक्षिक सुधारमा खर्च गरिने बताउनुभयो ।
राति साढे सात बजेदेखि मध्यराति १२ बजेसम्म सञ्चालन हुने सो प्रतियोगितामा कम्तीमा देशभरिका ४० टिम सहभागी हुने अपेक्षा गरिएको जनाउँदै प्रतियोगितामा सहभागी हुन इच्छुक टिमले वैशाख १६ देखि २३ गतेसम्म नाम दर्ता गराउन सक्ने अध्यक्ष योगीले बताउनुभयो । उहाँकाअनुसार सहभागी हुन चाहने प्रत्येक टिमका लागि ११ हजार रुपियाँ प्रवेश शुल्क निर्धारण गरिएको छ ।
योगीले प्रतियोगितामा प्रथम हुने टिमलाई एकम लाख रुपियाँ र द्वितीय हुने टिमलाई ५० हजार रुपियाँ पुरस्कार प्रदान गरिने जानकारी गराउँदै ‘म्यान अफ दि सिरिज’ लाई एनएस बजारको तर्फबाट मोटरसाइकल पुरस्कार प्रदान गरिने र ‘म्यान अफ दि म्याच’ लाई कृष्टल विद्यालयले ११ हजार रुपियाँ प्रदान गर्ने बताउनुभयो ।
सो प्रतियोगिताका लागि करिब ८ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको र प्रतियोगितामा देशभरका टिमहरू सहभागी हुने आयोजकले जनाएको छ ।
राष्ट्रिय खेलकुद परिषद्का वरिष्ठ क्रिकेट प्रशिक्षक दिपेन्द्र प्रताप सिंहले नेपालगन्जमा अत्यधिक गर्मी हुने गरेकोले पछिल्लो समयमा यहाँ रात्रीकालिन क्रिकेट निकै लोकप्रिय हुँदै गएको बताउनुभयो ।
गर्मीको मौसममा नेपालगन्ज, जयसपुर लगायतका क्षेत्रमा स्थानीयस्तरका रात्रीकालिन क्रिकेट प्रतियोगिताहरू निरन्तर हुने गरेका छन् ।