• १७ वैशाख २०८३, बिहिबार

गुल्मी महोत्सवमा मौलिक चाँदीका गहनाको आकर्षण

blog

प्रदर्शनीमा राखिएका मौलिक तथा अत्याधुनिक चाँदीका गहना। तस्बिर :रमेश विश्वकर्मा

रमेश विश्वकर्मा 

गुल्मी, वैशाख १७ गते । गुल्मीको सदरमुकाम तम्घासमा जारी पाँचौँ गुल्मी महोत्सव मा परम्परागत मौलिक चाँदीका गरगहना तथा सामग्री मुख्य आकर्षण बनेका छन्।

वैशाख ११ गतेदेखि सुरु भएको यस महोत्सवमा गुल्मी सुनचाँदी व्यवसायी सङ्घले स्थानीय कला र संस्कृति झल्काउने उद्देश्यका साथ विशेष प्रदर्शनी कक्ष (स्टल) सञ्चालनमा ल्याएको हो।

महोत्सवको स्टल नं.२२७ मा चाँदीबाट निर्मित पुराना तथा आधुनिक दुवै प्रकारका सामग्री प्रदर्शनमा राखिएका छन्।

विशेषगरी नयाँ पुस्तालाई लोप हुँदै गएका परम्परागत गरगहनाका बारेमा जानकारी गराउन र मौलिक सिपको प्रवर्धन गर्नका लागि मौलिक चाँदीका गरगहना तथा सामग्री प्रदर्शनीमा राखिएको सङ्घका वरिष्ठ उपाध्यक्ष दीपक बरालले जानकारी दिनुभयो।

प्रदर्शनीमा पुर्खाले प्रयोग गर्दै आएका कलात्मक चाँदीका सामग्रीको राखिएको छ। चाँदीबाट निर्माण गरिएका रैयाँ, कल्ली, हवेल, गिलास, कचौरा, करुवा, पुजाको थाली प्रदर्शनीमा राखिएको छ।

पुराना र मौलिक गरगहनाको बनावट र महत्त्वबारे युवा पुस्तालाई बुझाउन यो स्टल निकै प्रभावकारी देखिने बताइएको छ। स्थानीय उद्योग र कलाकारितालाई प्रोत्साहन गर्नका लागि गुल्मी उद्योग वाणिज्य सङ्घले उक्त स्टल निःशुल्क रूपमा उपलब्ध गराएको हो। महोत्सव अवलोकन गर्न आउने दर्शकले पुराना मौलिक गहनामा निकै अभिरुचि देखाएका छन्।

 नेपाली पहिचान र स्थानीय सुनचाँदी व्यवसायीको सिपलाई राष्ट्रियस्तरमा चिनाउन मद्दत पुग्ने विश्वास लिइएको छ।