• १७ वैशाख २०८३, बिहिबार

सहकारी सुदृढीकरणमार्फत बर्दिबासमा कृषि तथा दुध उत्पादन विस्तार

blog

अजय शाह

गौशाला (महोत्तरी), वैशाख १७ गते । बर्दिवास नगरपालिकामा सहकारी सुदृढीकरणलाई केन्द्रमा राखी कृषि तथा पशुपालन प्रवर्धनका कार्यक्रमहरू अघि बढाइएको छ।

नगरपालिकाले आज एक कार्यक्रम बिच सहकारीमार्फत दुध सङ्कलन तथा कृषि उत्पादन विस्तारलाई प्राथमिकतामा राख्दै विभिन्न सहयोग उपलब्ध गराएको छ।

बर्दिवास नगरपालिकाका प्रमुख प्रह्लादकुमार क्षेत्रीले दुध सङ्कलनका लागि आवश्यक क्यान लगायत सामग्री हस्तान्तरण गर्दै सहकारीको क्षमता अभिवृद्धिमा जोड दिनुभयो।

नगरपालिकाले पाँच लाख रुपियाँ बराबरको शेयर सदस्यता लिएर सरकारीप्रति आफ्नो प्रतिबद्धता जनाएको छ। २०३२ सालमा स्थापना भएको उक्त सहकारी लामो समय निस्क्रियजस्तै रहेकोमा हाल अध्यक्ष भानुभक्त पोखरेलको नेतृत्वमा पुनः सञ्चालनमा आएको छ। 

सहकारीले बेसार खेती तथा दुध उत्पादन र सङ्कथनलाई प्राथमिकतामा राख्दै गतिविधि विस्तार गरेको छ। हाल दैनिक करिब २०० लिटर दुध सङ्कलन तथा वितरण भइरहेको छ भने निकट भविष्यमा ५०० लिटरसम्म पुर्‍याउने लक्ष्य लिइएको सहकारीले जनाएको छ।

बेसार खेतीलाई व्यावसायिक रूपमा विस्तार गर्न सहकारीले यस वर्ष सात बिघा जमिनमा खेती सुरु गर्ने तयारी पूरा गरेको छ भने थप २५ बिघामा खेती विस्तार गर्ने योजना रहेको छ। किसानलाई प्रोत्साहन गर्न प्रति कट्ठा दुई हजार रुपियाँका दरले निर्ब्याजी ऋणसमेत उपलब्ध गराइएको छ।

कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी महासङ्घ महोत्तरीका अध्यक्ष गुन्जबहादुर कार्कीले सहकारीमार्फत अर्गानिक कृषि उत्पादनलाई अभियानकै रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो।

उहाँले स्थानीय उत्पादनको बजारीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारीले दुध सङ्कलनमा बिचौलियाको अन्त्य गरी सहकारीमार्फत नै सङ्कलन र वितरण गरिने बताउनुभयो।

उहाँका अनुसार यसबाट किसानले उचित मूल्य पाउने विश्वास लिइएको छ। साथै, दुधजन्य परिकार उत्पादनमा सहकारी सक्रिय रहेको र नगरपालिकाबाट अनुदानसमेत उपलब्ध गराइएको जानकारी दिनुभयो।

नगर प्रमुख क्षेत्रीले कृषिजन्य उत्पादनलाई बजारसम्म पुर्‍याउन ४० किलोमिटर सडक निर्माण तथा ग्रामीण क्षेत्रमा दुई वटा पुल निर्माण गरिएको जानकारी दिनुभयो।

सहकारी मार्फत हुने बेसार खेतीमा ५० प्रतिशत अनुदान उपलब्ध गराइने र उत्पादित वस्तुको बजार सुनिश्चित गर्ने जिम्मा नगरपालिकाले लिएको उहाँको भनाइ छ।

सहकारी मार्फत सामूहिक लगानी र सहकार्यलाई प्रवर्धन गर्दै किसानको आयआर्जन वृद्धि गर्ने लक्ष्य राखिएको छ। सहकारीको पुनः सक्रियतासँगै बर्दिवासका किसानहरूमा उत्पादनको उचित मूल्य प्राप्त हुने अपेक्षा बढेको छ।