• १७ वैशाख २०८३, बिहिबार

सार्वजनिक खरिद ऐन तत्काल परिमार्जन गरियोस् : मेयर महर्जन

blog

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन ।

काठमाडौँ, वैशाख १७ गते । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले सम्पदाको निर्माणमा सहज हुनेगरी सार्वजनिक खरिद ऐन तत्काल परिमार्जन गर्न सरकारसँग माग गर्नु भएको छ । 

बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सम्पदा निर्माण-पुनर्निर्माणमा समस्याको रूपमा देखिएको सार्वजनिक खरिद ऐन तत्काल परिमार्जन गर्न सरकारसँग माग गर्नुभएको हो । 

मेयर महर्जनले आफूले मेयरको रूपमा काम गर्दा सबै भन्दा ठुलो समस्याको रूपमा सो ऐन देखेकाले सरकारले त्यसलाई तत्काल संशोधन गरेर विकास, निर्माणको कामलाई सहज बनाउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “म महानगरको मेयर भएको करिब नौ वर्ष भयो । यो नौ वर्षको दौरानमा हामीले ललितपुर महानगर क्षेत्र भित्र रहेका सम्पदा लगभग बनाउन सिद्धियो । सबै नै बनाउने काम सकियो भन्दा पनि फरक पर्दैन । एउटा, दुई वटा अन्डर कन्स्ट्रक्सनमा छ । तर यो बनाउँदै गर्दा हामीले भोगेको साह्रै गाह्रो, साह्रै नमिल्ने कुरा भनेको चाँहि सार्वजनिक खरिद ऐन, २०६३ हो । हुन त मैले यो मेरो पहिलो कार्यकाल देखि नै यो विषयमा कुरा उठाउँदै आइराखेको र अहिलेको वर्तमान सरकारले चाहिँ यसलाई संशोधन पनि गर्छ भनेर प्रतिबद्धता पनि जाहेर भइसकेको तसर्थ अहिले हाम्रो संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्रीज्युको समुपस्थितिमा मैले जोडदार माग गर्न चाहेँ–त्यहाँ एउटा अलग्गै दफा जोडियोस्, थपियोस् कि यो मठ, मन्दिर, शिवालय, देवालय अर्थात सम्पदा बनाउनको निमित्त यो सार्वजनिक खरिद ऐनमा एउटा विशेष दफा जोडियोस् जसले गर्दा यो काम गर्न निकै सहजीकरण होस । सजिलो होस् । र हाम्रो जति पनि वर्कम्यानसिप छ । त्यो काममा एकदमै राम्रो नतिजा निस्कियोस् ।”

त्यस अवसरमा मेयर महर्जनले आफूले ललितपुर महानगरपालिकाको क्षेत्रभित्रका सबै सम्पदाको पुनर्निर्माणको काम सम्पन्न गरिसकेको दाबी समेत गर्नुभयो ।