सिराज खान
नेपालगन्ज, वैशाख १७ गते । नेपाल चिकित्सक सङ्घका केन्द्रिय महासचिव डा.सन्जिव तिवारीको नेतृत्वमा आएको टोलीले नेपालगन्जस्थित भेरी अस्पतालमा पुगेर चिकित्सकमाथि भएको घटनाको स्थलगत जानकारी लिएको छ ।
टोलीले अस्पतालमा पुगेर चिकित्सकसँग भेटेर उहाँहरूमाथि गरिएको दुर्व्यवहार र धम्की लगायतका विषयमा जानकारी लिएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.निराजन सुवेदीले बताउनुभयो ।
उहाँले सङ्घका महासचिवले भेरी अस्पतालका चिकित्सको अवस्थाबारे जानकारी लिएपछि निर्धक्क भएर काम गर्न अनुरोध गर्दै सरकारले पूर्ण सुरक्षा प्रदान गर्ने विश्वास दिलाउनु भएको जनाउनुभयो ।
बाँकेको बैजनाथ गाउँपालिका ६ की ६२ वर्षीया दिलसरा विकको उपचारको क्रममा मृत्यु भएको विषयलाई लिएर मृतकका आफन्तद्धारा अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदी, प्रमुख कन्सल्टेन्ट फिजिसियन राजन पाण्डे, वरिष्ठ कन्सल्टेन्ट कार्डियोलोजिस्ट डा.विकास नेपाल लगायतमाथि आक्रमणको प्रयास, धम्की र दुर्व्यवहार गरिएको थियो ।
उपचार प्रक्रियामा चित्त नबुझे कानुनी बाटा पर्याप्त हुँदाहुँदै चिकित्सकमाथि आक्रमणको प्रयास हुनु निन्दनीय भएको सङ्घका केन्द्रिय महासचिव डा. तिवारीले बताउनुभएको अस्पतालले जनाएको छ ।
सो घटनामा संलग्न दोषीलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ पहिलो संशोधन, २०७९ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएकोमा नेपाल चिकित्सक सङ्घले प्रशासनलाई धन्यवाद समेत दिएको छ ।
उक्त घटनामा अस्पताल प्रशासनले दुई जनालाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको थियो । सो घट्नामा संलग्न बताइएका एक जना कुशल दर्लामीलाई प्रहरीले पक्राउ गरेको छ भने अर्काको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
मृतकका छोरा सुरेश विकले पनि डाक्टर विरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिनुभएको छ । चिकित्सकको आन्दोलनका कारण दुईदिन बन्द रहेको भेरी अस्पतालको ओपिडी सेवा बुधबार दिउँसोबाटै सञ्चालनमा आएको थियो ।