• १७ वैशाख २०८३, बिहिबार

अफगानिस्तानको सुन खानीमा विस्फोट, पाँच जनाको मृत्यु

blog

काबुल, वैशाख १७ गते । अफगानिस्तानको उत्तरपूर्वी बदखसन प्रान्तको सुन खानीमा विस्फोट हुँदा कम्तीमा पाँच जना खानी मजदुरको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । अधिकारीका अनुसार सहरी बुजर्ग जिल्लाको अविज क्षेत्रमा मजदुरले सुन खोजिरहेको समयमा दुर्घटना भएको हो । 

विपद् व्यवस्थापनका लागि प्रान्तीय निर्देशक मावलवी मोहम्मद अकरम अकबरीले मृतकको सङ्ख्या पाँच पुगेको पुष्टि गर्दै थप पीडितहरूको खोजी कार्य जारी रहेको बताउनु भएको छ । दुर्गम बदखसन जिल्ला खनिज स्रोतमा धनी जिल्ला भएता पनि अनियमित र खतरनाक खानी जन्य उत्खनन्ले समस्या ग्रस्त क्षेत्रको रुपमा परिचित रहेको जनाइएको छ । 

उच्च गरिबीले ग्रस्त अफगानीस्थानको खानी क्षेत्रमा यस्ता दुखद दुर्घटना पटक-पटक हुने गरेको पाइन्छ भने परम्परागत र अनियमित खानी उत्खनन्को अभ्यासले आधुनिक मेसिनरी र व्यावसायिक सुरक्षा मापदण्डको अभावमा ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको जनाइएको छ । रासस/सिन्ह्वा