जनार्जन खत्री
सर्लाही, वैशाख १७ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भारतबाट १०० रुपियाँभन्दा बढीका सामान ल्याउँदा भन्सार बुझाउनु पर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गर्नुभएको छ ।
सर्लाही –४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएपछि पहिलो पटक यहाँ आउनुभएका थापाले बुधबार सीमावर्ती क्षेत्रस्थित गोडैता नगरपालिका–१२, मधुवनी नाकाको निरीक्षण गर्नुभएको थियो । थापाले काठमाडौँ फर्किएपछि बिहीबार मधुवनी नाकाको फोटो शेयर गर्दै अव्यवहारिक निर्णय तत्काल फिर्ता लिन आग्रह गर्नुभएको हो ।
उहाँले सीमामा पहिलेजस्तो सहजता थियो, त्यसलाई सुनिश्चित गर्न माग गर्नुभएको छ । थापाले फेसबुकमा लेख्नुभएको छ, “सीमा क्षेत्रहरू राष्ट्रका किनारा मात्र होइनन्, ती अर्थतन्त्र, संस्कृति र विश्वासका जीवित सङ्गम हुन् । जब नीतिले यो सवंदेशनशीलता बिर्सन्छ, त्यसले देशका सीमामा उभिएर देश सम्हाल्ने नागरिकलाई नै सजाय दिन्छ ।”
कांग्रेस सभापति थापाले १०० रुपियाँभन्दा बढीका समानमा भन्सार लगाउने कानुन नै अव्यवहारिक रहेको उल्लेख गर्नुभएको छ । उहाँले यो नीति सीमाका नागरिकका लागि हेपाहा र दुःख दिने नीति भएकाले सच्याउनुपर्नेमा जोड दिनुभयो ।
वर्तमान सरकारले सीमाको विषयमा अपनाएको नीतिले सीमा क्षेत्रका नागरिकको दैनिकी कति कष्टकर बनाएको छ भन्ने कुरा भुक्तभोगीलाई मात्र थाहा रहेको कांग्रेस सभापति थापाले बताउनुभयो । सीमाको सम्बन्धमा पछिल्लो निर्णयले मधेशका हरेक भान्सामा अवरोध खडा गरेको र यसको मार महिला, विद्यार्थी, किसान तथा श्रमिक वर्गमाथि पर्न गएकाले निर्णय फिर्ता लिन उहाँले सरकारसँग आग्रह गर्नुभएको छ ।
आफू सर्लाही–४ मा पर्ने मधुवनी नाकामा पुगेर स्थानीय महिला, मजदुरसँग कुरा गर्दा उनीहरूको व्यक्त गरेको पीडाले आफूलाई छटपटी भएको कांग्रेस सभापति थापाले फेसबुकमा उल्लेख गर्नुभएको छ ।