• १७ वैशाख २०८३, बिहिबार

एनभिए लिग : रुकुमपश्चिमसँग आर्मी पराजित

blog

हात मिलाउँदै रुकुमपश्चिमका खेलाडी ।

काठमाडौँ, वैशाख १७ गते । विभागीले टोली त्रिभुवन आर्मी क्लबले १०औँ पिएम कप एनभिए महिला तथा पुरुष भलिबल लिग अन्तर्गत पुरुषतर्फ रुकुमपश्चिम भलिबल क्लबसँग हार खेपेको छ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा बिहीबार भएको खेलमा रुकुमपश्चिमले आर्मीलाई ३–१ को सेटमा हरायो ।

रुकुमपश्चिमले २५–२२, २५–१८, २९–३१, २५–२१ को जित निकालेको हो । जितसँगै रुकुमपश्चिमले ६ खेलबाट १५ अङ्क बनाएको छ । पराजित आर्मीको समान खेलबाट ११ अङ्क छ । 

बिहीबार नै भएको अर्को खेलमा खिल्जी युवा क्लबले विभागीय टोली नेपाल एपिएफ क्लबलाई ३–१ को सेटमा हरायो । खिल्जीले २१–२५, २५–२२, २५–२३, २५–२१ को जित निकालेको हो । जितसँगै खिल्जीले ६ खेलबाट अङ्क बनाएको छ । एपिएफको समान खेलबाट तीन अङ्क छ ।

यस्तै अर्को खेलमा कोशी प्रदेश भलिबल क्लबले बुढानीलकण्ठ भलिबल क्लबलाई ३–१ को सेटमा हराएको छ । कोशीले बुढानीलकण्ठमाथि २०–२५, २५–१५, २५–१७, २६–२४ को जित निकालेको हो ।

छैटौँ खेलमा आएर पहिलो जित हात पारेको कोशीले तीन अङ्क बनाएको छ । सबै खेलमा हार खेपेको बुढानीलकण्ठले अङ्कको खाता खोल्न सकेको छैन ।

नेपाल भलिबल सङ्घले आयोजना गरेको लिग वैशाख १९ गतेसम्म चल्ने छ । लिगमा पुरुषतर्फ आठ र महिलातर्फ ६ गरी कुल १४ टोलीको सहभागिता रहेको छ । 

पुरुषतर्फ हेल्प नेपाल, त्रिभुवन आर्मी, नेपाल प्रहरी, एपिएफ, खिल्जी युवा क्लब (लुम्बिनी), रुकुमपश्चिम, कोशी प्रदेश र बुढानीलकण्ठ क्लब सहभागी छन् ।

महिलातर्फ न्यु डायमन्ड, नेपाल पुलिस, एपिएफ, सुदूरपश्चिम, एभरेस्ट क्लब र त्रिभुवन आर्मी क्लबले भाग लिएका थिए । महिलामा न्यु डायमन्ड र पुलिस क्लबले फाइनलमा स्थान बनाइसकेका छन् । 

एक करोड १५ लाख रुपियाँ लागत रहेको लिगको विजेताले १० लाख, उपविजेताले पाँच लाख र तेस्रो हुने टोलीले दुई लाख ५० हजार रुपियाँ पाउने छन् ।

यस्तै सर्वोत्कृष्ट खेलाडीलाई ६० हजार तथा उत्कृष्ट सर्भर, ब्लकर, लिवेरो, स्पाइकर, सेटर र प्रशिक्षकलाई जनही ३० हजार रुपियाँ प्रदान गरिने भलिबल सङ्घले जनाएको छ ।