• १७ वैशाख २०८३, बिहिबार

हत्या गरी फरार रहेका व्यक्ति पक्राउ

blog

ज्ञानु पङ्गेनी

मध्यविन्दु, वैशाख १७ गते । हत्या र लुटपाट गरी फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । देवचुली नगरपालिका–१६, टाँडीकोटका ७५ वर्षीय जीवनराम थनेतको हत्या गरी नगद तथा सुन लुटपाट गरेको घटनामा संलग्न व्यक्तिलाई काठमाडौँबाट नियन्त्रणमा लिइएको हो ।

स्थायी घर बागलुङ रहेका ३१ वर्षीय संजय विकलाई काठमाडौँ महानगरपालिका–४, सुकेधाराबाट पक्राउ गरिएको छ । गत चैत २३ गते ७५ वर्षीय जीवनराम थनेत मृत अवस्थामा र उहाँकी ७१ वर्षीया श्रीमती गुलबसिनिया थनेत घाइते अवस्थामा भेटिनुभएको थियो ।

घटनापछि केन्द्रीय अनुसन्धान ब्युरो, काठमाडौँ, गण्डकी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय नवलपुरको संयुक्त टोलीले अनुसन्धान अघि बढाएको थियो । सोहीक्रममा फरार रहेका विकलाई काठमाडौँ महानगरपालिका–४, सुकेधाराबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी अनिल पण्डितले जानकारी दिनुभयो ।

पक्राउ परेका विकको साथबाट नगद ३ लाख ७५ हजार, विभिन्न ब्रान्डका ३ थान मोबाइल, ४ थान एनटिसी सिम र ४ थान एनसेल सिम बरामद गरिएको छ ।

अनुसन्धानको क्रममा उनी यसअघि पनि कास्कीमा चोरी तथा हत्यासम्बन्धी मुद्दामा संलग्न भई कारागारमा बसेको र जेनजी आन्दोलनका क्रममा फरार भएको खुलेको सूचना अधिकारी पण्डितले जानकारी दिनुभयो । पक्राउ परेका विकलाई नवलपुर ल्याई कर्तव्य ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ