फडिन्द्र अधिकारी
लेखनाथ, वैशाख १७ गते । अहिलेको युगमा सञ्चार माध्यमलाई व्यावसायिक, जिम्मेवार र आत्मनिर्भर बनाउन यसलाई उद्योगका रुपमा विकास गर्नु पर्नेमा जोड दिइएको छ ।
प्रेस रजिष्ट्रारको कार्यालय गण्डकीले बिहीबार पोखरामा आयोजना गरेको प्रदेशका प्रशारण माध्यमको व्यवस्थापनबारे भएको कार्यक्रमका वक्ताहरुले यस्तो धारणा राख्नुभएको हो ।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारले आमसञ्चारलाई लोकतन्त्रकै अङ्गका रुपमा लिएको जनाउँदै यसलाई उद्योगका रुपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो । “अहिले पाठक, स्रोता र दर्शकको व्यवहारमा ठूलो परिवर्तन भइसकेको छ” उहाँले भन्नुभयो, “परम्परागत मिडियाले पनि अहिलेको डिजिटल युगका सम्भावना र प्रविधि समेटेर अघि बढ्नुपर्छ । मिडियालाई उद्योगका रुपमा विकास गर्नैपर्छ ।”
मुख्यमन्त्री पाण्डेले प्रदेशभरीका सञ्चार माध्यमलाई आत्मनिर्भर बन्न सघाउन र व्यावसायिक मिडियाको विकासका लागि सरकारले यथोचित प्रयत्न गर्ने उहाँको भनाइ छ । “हामी जिम्मेवार र मर्यादित पत्रकारिताका लागि आवश्यक प्रबन्ध गर्छाैं, गर्दै आएका छौँ । यहाँहरुले दिएका रचनात्मक सुझावलाई आउँदो वर्षको नीति तथा कार्यक्रममा समावेश गर्नेछौँ ।”
गण्डकी प्रदेश सरकारका मुख्य सचिव डन्डुराज घिमिरेले पारदर्शिता, लोकतन्त्र र जनताको अधिकारका लागि सञ्चार माध्यमको भूमिकाबारे सरकार जानकार रहेको र गम्भीरतापूर्वक मिडिया क्षेत्रलाई सम्बोधन गर्ने प्रतिवद्धता गर्नुभयो । गण्डकीका प्रेस रजिष्ट्रार विमला भण्डारीले पछिल्लो समय सञ्चार जगतमा आएका परिवर्तनहरुलाई आत्मसात गर्दै नयाँ सम्भावना खोज्नुपर्ने विचार राख्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ गण्डकी अध्यक्ष रमेश पौडेल, सञ्चार उद्यमी कल्पना चापागाई, पत्रकार गङ्गाधर पराजुली, स्याङ्जा टेलिभिजनका सञ्चालक रमेश गोदार, एकोराब अध्यक्ष ओमकार श्रेष्ठ, सफलता एफएमकी सञ्चालक दुर्गा अधिकारी, रेडियो अन्नपूर्णका सञ्चालक विश्वशङ्कर पालिखे लगायतले धारणा राख्नुभएको थियो ।