विष्णुप्रसाद पोखरेल
दमक, वैशाख १७ गते । झापाको मेचीनगर नगरपालिका–४, बाहुनडाँगी चोकनजिक हात्तीको आक्रमणबाट दुई जना गम्भीर घाइते बन्नुभएको छ । घाइते बन्नेमा एकै घरका आमाछोरी रहनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार बुधबार राति हात्तीको आक्रमणमा परी ३८ वर्षीया सुनिता बज्राचार्य र उहाँकी १३ वर्षीया छोरी यवद्रा घाइते बन्नुभएको छ । घरको बराण्डामा बसिरहेको अवस्थामा हात्तीले दुबै जनालाई घिसारेको जनाइएको छ ।
तत्कालै स्थानीयले उद्धार गरेर उपचारका लागि बिर्तामोडस्थित बिएन्डसी अस्पताल ल्याएको र अहिले उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । खड्काका अनुसार दुवै जनाको खुट्टामा गम्भीर चोट लागेको छ । अचानक उक्त घरमा एउटा हात्ती आएको थियो ।
यसैगरी झापाकै बुद्ध शान्ति गाउँपालिकाको बर्नेको जङ्गलमा तथा चियाबारीमा बुधबारदेखि २ वटा हात्ती देखिएको र स्थानीयले होहल्ला गरेर हात्तीलाई जिस्क्याउने कार्य गरेको भन्दै प्रहरीले यस्तो नगर्न आग्रह गरेको छ । हात्तीले मानवीय क्षति गर्न सक्ने बताउँदै होशियारी अपनाउन माइकिङ गरेको छ ।