• १७ वैशाख २०८३, बिहिबार

सत्यवतीमा अपाङ्गता परिचयपत्र दिइने

blog

सत्यवती गाउँपालिकाको कार्यालय, गुल्मी ।

रमेश विश्वकर्मा 

गुल्मी, वैशाख १७ गते। गुल्मीको सत्यवती गाउँपालिकाले पालिकाभित्र रहेका अपाङ्गता भएका व्यक्तिलाई अपाङ्गता परिचयपत्र वितरण गर्ने भएको छ। गाउँपालिकाको अपाङ्गता परिचयपत्र वितरण कार्यविधि, २०७५ अनुसार लक्षित वर्गलाई परिचयपत्र प्रदान गर्न लागिएको हो। 

आगामी वैशाख २५ गते सत्यवती गाउँ कार्यपालिकाको कार्यालयमा अपाङ्गता परिचयपत्र वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पौडेलले जानकारी दिनुभयो। अपाङ्गता भएका व्यक्तिलाई राज्यबाट प्राप्त हुने सेवा सुविधामा पहुँच पुऱ्याउने उद्देश्यले यो कार्यक्रम गर्न लागिएको गाउँपालिकाले जनाएको छ। 

परिचयपत्र प्राप्त गर्नका लागि सेवाग्राहीले अनुसूची १ बमोजिमको निवेदन, सम्बन्धित वडा कार्यालयको सिफारिस, अपाङ्गता भएका व्यक्तिको नागरिकता वा जन्मदर्ताको प्रतिलिपि पेस गर्नु पर्ने छ। त्यसैगरी चारप्रति अटो साइजको फोटो, संरक्षकको नागरिकताको प्रतिलिपि र नदेखिने खालको अपाङ्गताको हकमा सम्बन्धित चिकित्सकको सिफारिस पेस गर्नु पर्ने छ। 

गाउँपालिकाले सबै वडा कार्यालयलाई समन्वयका लागि आग्रह गरेको छ। परिचयपत्र वितरणसँगै पालिकाले अपाङ्गता भएका व्यक्तिको वास्तविक तथ्याङ्क अद्यावधिक हुने जनाएको छ।