• १७ वैशाख २०८३, बिहिबार

धार्मिक पर्यटकीय गन्तव्य बन्दै म्याग्दीको दुरलेक

blog

धार्मिक एवं प्राकृतिक पर्यटकीय स्थल दुरलेकमा निर्माण गरिएको मन्दिर । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, वैशाख १७ गते । म्याग्दीको मालिका गाउँपालिका–रुमको शिरमा रहेको धार्मिक एवं प्राकृतिक पर्यटकीय स्थल दुरलेक धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको छ । धार्मिक पर्यटकीय पूर्वाधार निर्माण हुन थालेपछि समुद्री सतहदेखि तीन हजार ६ सय मिटरको उचाइमा रहेको दुरलेक नयाँ गन्तव्यका रूपमा चिनिन थालेको हो ।

दुरलेकलाई धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्न सिद्ध देवताको मन्दिर निर्माण गरिएको छ । यसअघि उक्त स्थानमा ढुङ्गाको थानमा मात्र पूजा गर्ने प्रचलन थियो । स्थानीय दीपज्योति युवा क्लबको अगुवाइमा मन्दिर निर्माण गरिएको हो ।

मन्दिर निर्माणसँगै दुरलेकलाई धार्मिक तथा पर्यटकीय स्थलका रूपमा विकास गर्न सकिने मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताउनुभयो । उहाँले यो स्थान पालिकाकै सबैभन्दा अग्लो ठाउँमा रहेकाले पर्यटनको प्रचुर सम्भावना रहेको उल्लेख गर्नुभयो । पालिकाले सडक, पदमार्ग र अन्य पूर्वाधार निर्माणमा जोड दिएको र आगामी दिनमा थप पर्यटक तथा भक्तजनलाई आकर्षित गर्न प्रदेश तथा सङ्घीय सरकारसँग समन्वय गरी योजना अघि बढाइने उहाँको भनाइ छ ।

सिद्ध देवताको दर्शन र पूजाआजा गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । वडा अध्यक्ष उदयकुमार बुढाथोकीका अनुसार दुरलेक पहिले गौचरनका रूपमा चिनिए पनि पछिल्लो समय पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । उहाँले दुरलेकमा रेलिङ, प्रतीक्षालाय, खानेपानी तथा शौचालयजस्ता आधारभूत संरचना आवश्यक रहेको बताउनुभयो ।

दुरलेकले बागलुङको ताराखोला, रणसिंहकिटेनी, पाण्डवखानी, बुङ्गादोभान र तमानको सीमा क्षेत्रलाई समेटेको छ । अग्लो डाँडो दुरलेकबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, चुरेन लगायतका हिमशृङ्खलाका साथै म्याग्दी र बागलुङका विभिन्न गाउँबस्तीको अवलोकन गर्न सकिन्छ ।

दुरलेक डाँडो लालीगुराँसका कारण समेत प्रख्यात छ । पर्यटन पूर्वाधार निर्माण तथा प्रचारप्रसार गर्न सके दुरलेकमा आन्तरिकसँगै बाह्य पर्यटक आकर्षित गर्न सकिने वडा अध्यक्ष बुढाथोकीले बताउनुभयो । यहाँ सूर्योदय र सूर्यास्तको मनमोहक दृश्यावलोकन गर्न आन्तरिक पर्यटक पुग्ने गर्दछन् । दुरलेकमा पाँचऔँले, सतुवा लगायतका बहुमूल्य जडीबुटीसमेत पाइन्छ । दुरलेक जाने पर्यटकलाई लक्षित गरी रुम र घ्याङ्लेपानीमा होमस्टे (घरवास) समेत सञ्चालन गरिएको छ ।