• १७ वैशाख २०८३, बिहिबार

स्थानीयको दबाबपछि धनुषाधाम–रघुनाथपुर सडक निर्माण सुरु

blog

विजयकुमार साह

ढल्केबर, वैशाख १७ गते । स्थानीयको दबाबपछि वर्षौँदेखि अलपत्र परेको धनुषाधाम–रघुनाथपुर सडकखण्ड निर्माण कार्य बिहीबारदेखि पुनः सुरु भएको छ । करिब पाँच किलोमिटर लम्बाइ रहेको सो सडक निर्माण लामो समयदेखि रोकिँदा स्थानीयवासीले सास्ती खेप्दै आएका थिए ।

रघुनाथपुरका स्थानीयका अनुसार सडक निर्माणको माग गर्दै जनकपुरस्थित जिल्ला पूर्वाधार विकास कार्यालय धनुषामा तालाबन्दी गरेपछि मात्र पूर्वाधार कार्यालय सक्रिय बनेको हो । रघुनाथपुरका बासिन्दाले गत बिहीबार कार्यालयमा तालाबन्दी गरेका थिए । सडक निर्माणमा सम्बन्धित निकायले चासो नदिएको र पटक–पटक ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ नभएपछि स्थानीय आक्रोशित बनेको सुरेश यादवले बताउनुभयो ।

उहाँका अनुसार मधेश प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७८/७९ मा उक्त सडक निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । सुरुवाती चरणमा एकदेखि दुई किलोमिटरसम्म सडक निर्माण भए पनि त्यसपछि काम पूर्णरूपमा ठप्प भएको थियो । उहाँले भन्नुभयो, “बारम्बार गुनासो गर्दा पनि कुनै सुनुवाइ नभएपछि बाध्य भएर तालाबन्दी गर्नुपर्‍यो । हाम्रो दबाबपछि मात्रै काम अघि बढेको हो ।”

तालाबन्दीपछि कार्यालय प्रमुख सञ्जीव साहसँग छलफल हुँदा वैशाख १५ गतेभित्र निर्माण कार्य सुरु गर्ने सहमति भएको स्थानीय यादवले बताउनुभयो । सोही प्रतिबद्धतापछि तालाबन्दी खोलिएको र अहिले काम पुनः सुरु भएको उहाँको भनाइ छ । यादवका अनुसार वर्षायाममा सडक अत्यन्तै हिलाम्मे हुने गरेको छ । एकपटक पानी परेपछि करिब १० दिनसम्म आवतजावत गर्नै कठिन हुन्छ । सडक निर्माण सम्पन्न भएमा स्थानीयवासीलाई आवतजावतमा सहज हुने विश्वास लिइएको छ ।