• १७ वैशाख २०८३, बिहिबार

बुद्ध दर्शनले शान्ति-समृद्धिको आधार बनाउँछ : राष्ट्रपति

blog

राष्ट्रपति रामचन्द्र पौडेल बिहीबार ललितपुरमा आयोजित एक बौद्ध सभालाई सम्बोधन गर्नुहुँदै । तस्बिर : सागर बस्नेत

काठमाडौँ, वैशाख १७ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बुद्ध दर्शनलाई व्यवहारमा रूपान्तरण गर्न सके मात्रै दिगो शान्ति र समृद्धिको आधार निर्माण गर्न सकिने बताउनुभएको छ।

बिहीबार ललितपुरमा आयोजित एक बौद्ध सभालाई सम्बोधन गर्दै उहाँले बुद्धका अहिंसा, मैत्री, करुणा र प्रज्ञाका सन्देशलाई व्यवहारमा उतार्न सकेमा मात्र दिगो शान्ति र समृद्धि सम्भव हुने उल्लेख गर्नुभयो।

आजको विश्व द्वन्द्व, स्वार्थपरायणता, आदर्शको स्खलन, नैतिकताको क्षयीकरण, असहिष्णुता तथा मानवीय मूल्यहरूको ह्रासजस्ता समस्याबाट प्रभावित भइरहेको उल्लेख गर्दै उहाँले यस्तो अवस्थामा बुद्धका उपदेशहरू अझ सान्दर्भिक बन्दै गएको बताउनुभयो।


राष्ट्रपति पौडेलले बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको पालनाबाट धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सकिने धारणा राख्नुभयो।

उहाँले भन्नुभयो, “शान्तिका दूत बुद्धका उपदेश र मार्गदर्शनको पालनाबाट सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाउन सकिन्छ। नेपालमा जन्मिएका बोधिसत्त्व सिद्धार्थ गौतम बुद्धले प्रतिपादन गर्नुभएको बौद्ध दर्शन विश्वभर फैलिएको छ। उहाँले देखाउनुभएको आर्य अष्टाङ्गिक मार्गले सबै प्राणीलाई दुःखबाट मुक्तिको बाटो देखाएको छ।”

राष्ट्रपति पौडेलले शान्ति, सहअस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्ध दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासतर्फ अग्रसर गराउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।