• १७ वैशाख २०८३, बिहिबार

इस्माका वडा–वडामा एकीकृत घुम्ती शिविर

blog

एकीकृत घुम्ती शिविरमार्फत सेवा लिँदै नागरिक । तस्बिरः टोपलाल अर्याल

टोपलाल अर्याल

रेसुङ्गा(गुल्मी), वैशाख १७ गते । इस्मा गाउँपालिकाको वडा–वडामा एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८२–८३ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार ६ वटै वडामा शिविर सञ्चालन हुने छ ।

इस्मा गाउँपालिकाले नागरिक सेवालाई सहज र पहुँचयोग्य बनाउन एकीकृत घुम्ती शिविर अभियान सुरु गरेको हो । वैशाख १५ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने यस अभियान अन्तर्गत वडा १ र २ मा शिविर सम्पन्न भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पराजुलीका अनुसार वडामा सञ्चालन हुने योजनाहरुको सम्झौता गर्ने, व्यवसाय दर्ता तथा नवीकरण गर्ने र स्थानीय नागरिकलाई स्वास्थ्य जाँच र औषधी वितरण गरिएको छ । 

त्यस्तै, पशुपालक किसानलाई लक्षित गर्दै पशु स्वास्थ्य जाँच तथा उपचार सेवा पनि शिविरमै प्रदान गरिएको छ । उहाँले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत ७० वर्ष उमेर पुगेका नागरिकहरूको नयाँ नाम दर्ताका लागि निवेदन सङ्कलन र ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरिएको बताउनुभयो ।

गाउँपालिकाका अनुसार यस अभियानले सेवाग्राहीलाई कार्यालय धाउनुपर्ने बाध्यता हटाउँदै वडास्तरमै सेवा पुर्‍याउने लक्ष्य राखेको छ । नागरिकमैत्री सेवा प्रवाहको यो प्रयासले स्थानीय तहप्रतिको विश्वास अझ मजबुत हुने अपेक्षा गरिएको छ । वडा नं १ र २ मा योजना सम्झौता १५ वटा र योजना फरफारकको लागि टिप्पणी दुई वटा उठाइएको छ । पशुपक्षी औषधी उपचारतर्फ २६४ जनाले सेवा लिनुभएको छ । 

त्यस्तै १४४ कुकुर, बिरालो र राँगाहरूलाई रेविजविरुद्धको खोप लगाइएको छ । तीन जनाको व्यवसायी नवीकरण र एक जनाको खारेज गरिएको छ । १५९ जनाको स्वाथ्योपचार र औषधी वितरण, तीन जनाको सामाजिक सुरक्षा भत्ता लागु गर्नका लागि नयाँ लाभग्राहीको नाम सङ्कलन, दुई जनालाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण र दुई जनालाई अपाङ्ग परिचयपत्र प्रतिलिपि जारी गरिएको गाउँपालिकाका सूचना अधिकारी नारायण महतले जानकारी दिनुभयो ।