प्रेमराज सिम्खडा
कालीकोट, वैशाख १७ गते । जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा पदक विजेता खेलाडीलाई जिल्लाको तिलागुफा नगरपालिकाले नगदसहित सम्मान गरेको छ ।
१६ औं जिल्ला स्तरीय राष्ट्रप्रति रनिङ शिल्डमा ३१ जना पदक विजेता र ८० जना सहभागी खेलाडीलाई नगरपालिकाले प्रोत्साहन स्वरूप नगद पुरस्कार प्रदान गरेको हो ।
तिलागुफाका १८ जना खेलाडी कर्णाली प्रदेश स्तरीय खेलकुदका लागि छनोट भएका छन् । उहाँहरु धेरैजसो एथेलेटिक्सका खेलाडी छन् । तिलागुफाका नगर प्रमुख शङ्करप्रसाद उपाध्यायले रनिङ शिल्डमा स्वर्ण पदक विजेता खेलाडीलाई पाँच हजार, रजत विजेतालाई ३, कास्य विजेतालाई २ र सहभागीलाई प्रति व्यक्ति १ हजारका दरले प्रोत्साहन रकम वितरण गरिएको बताउनुभयो ।
‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ नाराका साथ नरहरिनाथ गाउँपालिकाको केन्द्र कुमालगाउँमा आयोजित १६ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा तिलागुफा नगरपालिकाले लगातार तेस्रो पटक जिल्लामा प्रथम भएर शिल्ड जितेको हो ।
नगरपालिकाले पदक विजेता र सहभागी खेलाडीलाई उहाँहरूका अभिभावकको सहभागितामा नगरको केन्द्र गाल्जेमा बधाई तथा सम्मान कार्यक्रम आयोजना गरेको छ ।
नगरका उपप्रमुख महेन्द्रबहादुर शाहीले खेलाडीलाई उत्साहित बनाउन सरकारको तर्फबाट सानो भए पनि सहयोग गरेर उर्जा थपिदिएको बताउनुभयो । उपप्रमुख शाहीले नगरपालिकाले खेलाडीका लागि पोशाक, खेल सामग्री र खेल मैदानका लागि लगानी गर्दै आएको बताउनुभयो ।
यसवर्ष पनि नगरले ४० लाख बजेट विनियोजन गरेको छ । ३० स्वर्ण, ३० रजत र ३० कास्य पदकका लागि भएको प्रतिष्पर्धामा १५ स्वर्ण, ११ रजत र ५ कास्य गरी ३१ पदकका साथ तिलागुफा नगरपालिका जिल्लामै प्रथम भएको छ ।