• १७ वैशाख २०८३, बिहिबार

लमजुङ दरबारको निर्माण कार्य अलपत्र

blog

पुननिर्माण अलपत्र परेको लमजुङ दरबार । तस्बिर :नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, वैशाख १७ गते । लमजुङ दरबारको निर्माण कार्य लामोसमयदेखि अलपत्र परेको छ ।

बेँसीसहर नगरपालिका–३, गाउँसहरमा १६ औँ शताब्दीमा बनेको यस दरबारको पुननिर्माण कार्य पन्ध्र महिनादेखि  ठप्प रहँदा सो दरबार अलपत्र पर्दै आएको हो । विसं २०८१ माघ महिना यता निर्माण कार्य अघि बढ्न सकेको छैन् ।

पुरातत्व विभागले मौखिक रूपमा दुई वर्षमा सक्ने गरी निर्माण कार्य थालनी गरेको पाँच वर्ष पुग्दा पनि सम्पन्न भइसक्ने बेलामा निर्माण कार्य नै ठप्प हुँदा स्थानीय चिन्तित बनेका छन् । स्थानीय सुरेश श्रेष्ठले भन्नुभयो, “हामीलाई दुई वर्षमा सक्ने भनेर दरबारको पुन निर्माण कार्य सुरु गरेका थियौं, तर लामो समयदेखि निर्माण कार्य ठप्प रहेको छ ।”

गाउँसहर कालिका मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र बोहोराले यस दरबारको पुननिर्माण कार्य अलपत्र भएपछि पुरातत्व विभागलाई पटक पटक झकझकाए पनि सुनुवाइ नभएको बताउनुभयो ।

सरकारले पर्याप्त बजेट नदिँदा निर्माणमा ढिलाई भएको जवाफ पुरातत्व विभागले दिने गरेको उहाँले बताउनुभयो । वडाध्यक्ष चित्रबहादुर दनाईले बजेट विनियोजन नगर्दा ऐतिहासिक क्षेत्रको पुननिर्माण अलपत्र परेको बताउनुभयो ।

पुरातत्व विभागका इन्जिनियर गोविन्द अधिकारीले यो आर्थिक वर्षमा जेनजी आन्दोलन, टेन्डर प्रक्रिया लगायत विविध कारणले पुननिर्माण कार्य सुरु हुन ढिलाइ भएको बताउनुभयो ।

पुननिर्माणका लागि टेन्डर आह्वान गरेर निर्माण कम्पनी छनोट गरिसकेकोले चाँडै नै पुनः निर्माण कार्य अघि बढ्ने उहाँले बताउनुभयो ।

उहाँका अनुसार एवान कम्पनी काठमाडौँले करिब ४२ लाखमा ठेक्का प्राप्त गरेको छ । दरबारको केही पर्खाल लगाउने, कालिका मन्दिरको पर्खाल लगाउने, छाना हाल्ने काम, छानामा हाल्ने काठ राख्न, गजुर राख्न, दरबारभित्र प्लाष्टर, झ्याल ढोकाका खापा, रङरोगन, भुइँमा गर्नुपर्ने काम अझै बाँकी रहेको इन्जिनियर अधिकारीले जानकारी दिनुभयो ।

विभागका अनुसार यस आवको बजेटले पनि पुननिर्माण कार्य सम्पन्न नहुने र सो रकमले माथिल्लो भागमा पर्खाल लगाउने, छानोका लागि काठ राख्ने, त्यहाँ रहेका काठको जाँच गर्ने लगायतको कार्य मात्रै सम्पन्न हुने छ । 

उहाँका अनुसार आव २०८१/०८२ मा भ्याट सहित ६० लाख बजेट प्राप्त भएको र स्टेटमेन्ट गरेर ३५ लाख १७ हजार ८६६ रुपियाँ तीन पैसामा शिल्पकार निर्माण सेवा भक्तपुरले निर्माण सम्झौता गरेर काम गरेको थियो । 

 आर्थिक वर्ष २०७९/८० मा एक करोड ३३ लाख बजेटबाट पुनर्निर्माण सुरु गरिएकामा आव २०८०/०८१ मा सरकारले जम्मा ५० लाख रुपियाँ बजेट छुट्याएको थियो ।

पहिलो वर्ष भक्तपुरको निर्माण कम्पनी एनपिएस र दोस्रो वर्ष भक्तपुरकै आरजिएस, विष्णु जेभीले दरबार पुनर्निर्माणको जिम्मा पाएको थियो । पुरानै शैली र स्वरूपमा दरबारको पुनर्निर्माण भइरहेको छ ।दरबार बुइँगलसहित तीनतले र कालिका मन्दिर प्यागोडा (छाने शैली)को बन्ने छ ।

दरबार बनाउन चाहिने इँटा, काठ, सुर्कीलगायत निर्माण सामग्री भक्तपुरबाट ल्याएर प्रयोग गरिएको छ । यस व्यवस्थापन समितिका अनुसार दरबार १६ रोपनी क्षेत्रफलमा रहेको छ । शाहवंशीय राज्यकालको उद्गमथलो लमजुङ हो भने, त्यसैको विरासत हो लमजुङ दरबार ।

कास्कीकोटका राजा कुलमण्डलका माइला छोरा कालु शाहलाई विसं १५४० मा लमजुङका खजेदुरा, सुकराम क्याउसा, माघे दुरा, कुश्माखर घिमिरे र लक्ष्मण दुराले लमजुङको पहिलो चौबिसे राज्यका राजा बनाएका थिए  ।

त्यसको केही समयमै लमजुङमा शासनको बागडोर सम्हालेका तत्कालीन घले राजाका सेनाले कालु शाहको हत्या गरिदिएको इतिहासमा उल्लेख छ । सो घटनापछि उनीहरूले नै कुलमण्डनका कान्छा छोरा यशोबह्म शाहलाई पुनः कास्कीकोटबाट ल्याएर राजकाज अघि बढाएका थिए ।

यशोबह्मलाई १५ असार रविबारका दिन १५ घडीको सिंह लग्नमा विसंं १५५० मा राजगद्दीमा बसाइएको शिलालेखमा उल्लेख छ ।