• १७ वैशाख २०८३, बिहिबार

हुम्लामा डेङ्गुका बिरामी फेला

blog

डेङ्गु सङ्क्रमित बिरामीको रिपोर्ट हेर्दै चिकित्सक तिवारी र अस्पतालको बेडमा बिरामी। तस्बिरः राजन रावत

राजन रावत
हुम्ला, वैशाख १७ गते । हिमाली जिल्ला हुम्लामा एक जना बिरामीमा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ। जिल्ला अस्पतालमा उपचाररत बिरामीको स्वाब परीक्षण गर्दा डेङ्गु पुष्टि भएको हो।

डेङ्गु पोजिटिभ देखिएका बिरामी सिमकोट गाउँपालिका–२ का ४५ वर्षीय मोती सुनार रहेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख चिकित्सक उमाकान्त तिवारीले जानकारी दिनुभयो।

उहाँका अनुसार सुनार तीन दिनअघि उपचारका लागि जिल्ला अस्पतालमा आएका थिए र हाल अस्पतालमै भर्ना गरेर उपचार भइरहेको छ। परीक्षणका क्रममा डेङ्गु पुष्टि भएपछि केही दिन अझै अस्पतालमै राखेर उपचार गरिने उहाँले बताउनुभयो।

जिल्ला बाहिर ननिस्केका सुनारमा हुम्लामै डेङ्गु देखिएको चिकित्सक तिवारीले उल्लेख गर्नुभयो। मौसममा आएको परिवर्तन र तापक्रम वृद्धि भएसँगै लामखुट्टे देखिन थालेकाले यस्तो सङ्क्रमण फैलिएको हुनसक्ने उहाँको भनाइ छ।