• १७ वैशाख २०८३, बिहिबार

भारतीय कडाइले नेपाली चिया निर्यात सङ्कटमा

blog

चिया बगान । तस्बिर : प्रेम अधिकारी

प्रेम अधिकारी
पशुपतिनगर (इलाम), वैशाख १७ गते ।
नेपाली चिया निर्यातको ठुलो हिस्सा ओगटेको छिमेकी भारतले नयाँ कडाइ लागु गरेपछि नेपाली चिया बजार सङ्कटमा पर्ने देखिएको छ।

भारतले सन् २०२६ मे १ देखि लागु हुने गरी नेपाली चिया निर्यातमा कडा नियम लागु गरेपछि समस्या उत्पन्न भएको हो। नयाँ व्यवस्था अनुसार अब प्रत्येक गाडीबाट निर्यात हुने चियाको अनिवार्य रूपमा प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) गर्नुपर्ने छ।

यसअघि एउटा सवारी साधनमा लोड गरिएको चिया परीक्षण गर्दा अन्य १० गाडीका चियालाई समेत प्रवेश अनुमति दिइने प्रचलन थियो। तर अब प्रत्येक खेप र प्रत्येक गाडीका लागि छुट्टाछुट्टै परीक्षण गर्नुपर्ने भएपछि निर्यात प्रक्रिया झन्झटिलो र खर्चिलो बन्ने भएको छ।

सूर्योदय टी प्रोड्युसर्स एसोसिएसनका महासचिव तथा चिया उद्योगी गोपाल कट्टेलका अनुसार प्रत्येक परीक्षणका लागि ११ हजार ५०० भारतीय रुपियाँ शुल्क लाग्ने र प्रतिवेदन आउन १५ दिनभन्दा बढी समय लाग्ने छ। उहाँका अनुसार परीक्षण अवधिभर चिया सवारीमै राख्न वा गोदाममा राख्नुपर्ने हुँदा थप लागत बढेर निर्यात गर्नै कठिन हुने अवस्था आएको छ।

उहाँले भारतको यो कदमलाई “अघोषित नाकाबन्दी”को संज्ञा दिँदै भन्नुभयो, “यसरी हेर्दा नेपाली व्यवसायीले भारतमा चिया निर्यात गर्नै नसक्ने अवस्था छ। परीक्षणमा समस्या आएमा पुनः परीक्षणका लागि थप शुल्क लाग्ने र अन्तिम अवस्थामा चिया जफतसमेत हुन सक्छ।”

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार नेपालबाट वार्षिक करिब १५ हजार ६ सय मेट्रिक टन चिया निर्यात हुन्छ, जसमध्ये ८६ प्रतिशत भारतमै जाने गरेको छ।

बोर्डका क्षेत्रीय प्रमुख इन्द्र अधिकारीका अनुसार भारतले विगत वर्षदेखि नै विभिन्न बहानामा नेपाली चिया रोकेको इतिहास छ। यसपटक भने औपचारिक रूपमा कडाइ गरेपछि समस्या झन् गम्भीर बन्ने देखिएको छ। उहाँले सङ्घीय सरकारले कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिनुभयो।

नेपालमा झापा, इलाम, पाँचथर र धनकुटासहित ३१ जिल्लामा चिया खेती हुँदै आएको छ। यी जिल्लामा उत्पादन हुने अर्गानिक तथा अर्थोडक्स चिया अन्तर्राष्ट्रिय बजारमा गुणस्तरका लागि परिचित छन्। नेपालबाट ठुलो परिमाणमा चिया भारत हुँदै तेस्रो मुलुकमा पनि निर्यात हुँदै आएको छ।

व्यवसायीहरूका अनुसार भारतले नेपाली तयारी चियालाई गुणस्तरहीन भन्दै अवरोध गर्ने गरे पनि नेपाली हरियो पत्ती चिया भने खरिद गरी ‘दार्जिलिङ चिया’ ब्रान्डमा अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्दै आएको छ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका प्रवक्ता दीपक खनालका अनुसार भारतको ‘टी बोर्ड अफ इन्डिया’ले फेब्रुअरी १० मा पठाएको पत्रपछि मन्त्रालयमा पहलका लागि जानकारी गराइएको छ। उहाँले नेपालको खाद्य प्रविधि प्रयोगशालाबाट गरिएको परीक्षणलाई भारतले मान्यता दिनुपर्नेमा जोड दिनुभयो।

समयमै कूटनीतिक समाधान खोज्न नसकिए नेपाली चिया उद्योगमा दीर्घकालीन असर पर्ने र हजारौँ किसान तथा श्रमिकको रोजगारी सङ्कटमा पर्ने देखिएको छ। इलाम क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य निस्कल राईले पनि यस विषयमा सरकारको सक्रिय पहल आवश्यक रहेको बताउनुभयो।

वि.सं. १९२० मा इलाममा कर्णेल गजराज सिंह थापाद्वारा सुरु गरिएको चिया खेती अहिले हजारौँ किसानको जीविकोपार्जनको आधार बनेको छ। हाल नेपालमा २० हजार ६०२ हेक्टर क्षेत्रमा चिया खेती हुँदै आएको छ भने वार्षिक २ करोड ६१ लाख किलोग्राम चिया उत्पादन हुन्छ। यस क्षेत्रमा करिब ६० हजारले प्रत्यक्ष रोजगारी पाएका छन्।

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालले एक करोड ५६ लाख केजी चिया निर्यात गरी ४ अर्ब ५९ करोड रुपियाँ वैदेशिक मुद्रा आर्जन गरेको छ।