विष्णुप्रसाद पोखरेल
दमक, वैशाख १७ गते । झापामा विभिन्न राजनीतिक आन्दोलनका क्रममा अग्रभागमा देखिने नेतृका रूपमा परिचित हुनुहुन्छ, प्रतिनिधि सभा सदस्य सुशीला ढकाल आचार्य । भोजपुरको अरुण गाउँपालिकामा २०१८ सालमा जन्मिएकी आचार्य हाल झापाको भद्रपुरमा स्थायी बसोबास गर्दै आउनुभएको छ । लक्ष्मणप्रसाद ढकाल र रामाया ढकालकी छोरी आचार्यले स्नातक तहसम्मको शिक्षा हासिल गर्नुभएको छ ।
विद्यालय जीवनदेखि नै अन्याय, विभेद र दमनविरुद्ध आवाज उठाउन सिकेकी उहाँले २०३६ सालको जनमतसङ्ग्रहका क्रममा आन्दोलनमा सहभागी हुँदै आफ्नो राजनीतिक यात्राको आधार तयार गर्नुभएको थियो । उहाँ नेपाल विद्यार्थी सङ्घबाट राजनीतिमा प्रवेश गर्नुभएको थियो । लामो समयसम्म विद्यार्थी राजनीति गर्नुभयो ।
भद्रपुरस्थित मेची क्याम्पसमा अध्ययनका क्रममा उहाँको विद्यार्थी राजनीति थप सशक्त बन्यो र राजनीतिलाई समाज परिवर्तनको माध्यमका रूपमा बुझ्ने अवसर नजिकबाट पाउनुभयो । विसं २०४६/४७ सालतिर महिला घरबाहिर निस्कनु नै चुनौतीपूर्ण मानिने अवस्थामा उहाँले पञ्चायती व्यवस्थाविरुद्ध र महिला अधिकारका पक्षमा आन्दोलन गर्दै जेल जीवनसमेत भोग्नुभयो ।
जनआन्दोलन २०४६ र जनआन्दोलन २०६२/६३ मा अग्रपङ्क्तिमा रहेर काम गर्दा उहाँले हिरासत र यातनासमेत सहनु प-यो । विशेष गरी २०६१ सालको शाही कदमविरुद्धको आन्दोलनका व्रmममा उहाँलाई सेनाको ब्यारेकभित्र राखिएको थियो । त्यो समय सम्झँदा अहिले पनि झसङ्ग हुने गरेको उहाँको भनाइ छ । उहाँ सशस्त्र आन्दोलनका क्रममा द्वन्द्वपीडित पनि हो । उहाँको घरमा लुटपाट भएको थियो ।
आचार्यले नेपाल विद्यार्थी सङ्घ, नेपाल तरुण दल र नेपाल महिला सङ्घमा सक्रिय भूमिका निर्वाह गर्नुभयो । उहाँले तीन वटै सङ्गठनमा रहेर जिल्लामा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको छ । विशेष गरी महिला सङ्घ झापाको सभापतिका रूपमा करिब दुई दशक काम गर्नुभयो । उहाँले यो अवधिमा महिला अधिकार, समानता र नेतृत्व विकासमा महŒवपूर्ण योगदान दिनुभयो ।
पार्टीभित्र पनि उहाँले निरन्तर सङ्घर्ष गर्नुभयो । १२ औँ महाधिवेशनमा पराजित भए पनि हार नमानी नेपाली कांग्रेस १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित बन्नुभयो । अब उहाँ पार्टी राजनीतिबाट संसदीय राजनीतिमा प्रवेश गर्नुभएको छ । प्रतिनिधि सभा सदस्यका रूपमा उनले आफ्नो भूमिकालाई प्रभावकारी रूपमा अघि बढाउने उल्लेख गर्नुभएको छ ।
समाजमा हुने हरेक प्रकारका अन्याय, विभेद र दमनविरुद्ध आफू सधैँ अग्रभागमा रहने उहाँको प्रतिबद्धता रहेको छ । महिलाका लागि समान अवसर, स्वास्थ्य, शिक्षा र श्रमको उचित मूल्य सुनिश्चित गर्नु आफ्नो प्रमुख एजेन्डा भएको उहाँको भनाइ छ । समाजमा अझै कायम रहेको विभेद अन्त्य गर्दै महिला सशक्तीकरणका लागि नीतिगत र व्यावहारिक सुधार आवश्यक रहेकामा उहाँ स्पष्ट रहनुभएको छ । सामान्य गृहिणीदेखि राष्ट्रिय राजनीतिसम्मको उनको यात्रा नेपाली समाजमा परिवर्तन र प्रेरणाको सशक्त आयाम मान्न सकिन्छ ।