अर्जेन्टिनाको राष्ट्रिय वैज्ञानिक तथा प्राविधिक अनुसन्धान परिषद्का प्यालेन्टोलोजिस्टले पाटागोनिया क्षेत्रमा डाइनोसरको एउटा सुरक्षित अन्डा फेला पारेका छन् । करिब सात करोड वर्ष पुरानो मानिएको यो अन्डा बोनापार्टेनिकस नामक सानो मांसाहारी डाइनोसरको हो । यो खोजलाई वैज्ञानिक जगत्मा एउटा चमत्कार मानिएको छ किनभने मांसाहारी डाइनोसरको अन्डाका बोक्रा शाकाहारीको तुलनामा निकै पातला र कमजोर हुन्छन् ।
मुख्य अनुसन्धानकर्ता डा. फेडरिको एगोलिनका अनुसार बालुवाको विशेष अवस्थाले गर्दा यो अन्डा नफुटिकन जोगिएको हो । रियो नेग्रो प्रान्त, जसलाई वैज्ञानिकहरूले ‘प्रागैतिहासिक नर्सरी’ को संज्ञा दिएका छन्, त्यहाँ अन्य घस्रने जन्तु र स्तनधारी प्राणीका अवशेष पनि भेटिए । यस क्षेत्रमा भेटिने अन्य अवशेष टुक्रिएका भए पनि यो अन्डा पूर्ण अवस्थामा छ ।
वैज्ञानिकहरूले यसभित्र डाइनोसरको भ्रूण (बच्चा) हुन सक्ने बलियो सम्भावना व्यक्त गरेका छन् । यस अन्डाको बनोटले मांसाहारी डाइनोसरको विकास र आधुनिक चरासँग उनीहरूको सम्बन्धबारे महत्वपूर्ण जानकारी दिने छ ।
वैज्ञानिक टोलीले अब यस अन्डाको ‘स्क्यान’ गरेर भित्र रहेको वस्तुको अध्ययन गर्ने छन् । त्यसपछि यसलाई पाटागोनियाकै एक सङ्ग्रहालयमा सर्वसाधारणको अवलोकनका लागि राखिने छ ।