रामकृष्ण बोहरा
बागलुङ, वैशाख १७ गते । जिल्लाको अति विकट मानिने जैमिनी नगरपालिका–३ दमेकको देउरालीखानी माझगाउँमा ‘एक घर एक धारा’ योजना सम्पन्न भएको छ। गोर्खा वेलफेयर ट्रस्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग, नगरपालिकाको समन्वय र स्थानीय जनसहभागितामा उक्त योजना सम्पन्न गरिएको हो।
योजनाअन्तर्गत देउरालीखानीका ३४ घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। त्यसबाहेक एक विद्यालय र एक खोप क्लिनिकसमेत गरी कुल ३६ वटा खानेपानी धाराको निर्माण गरिएको छ। गोर्खा वेलफेयरको ३६ लाख रुपियाँ र स्थानीयको ९ लाख रुपियाँ बराबरको श्रमदानसहित कुल ४५ लाख रुपियाँको लागतमा योजना सम्पन्न गरिएको देउरालीखानी माझगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष वेदबहादुर छन्त्यालले जानकारी दिनुभयो।
माझगाउँको शिरमा रहेको छेरछेरे मूलबाट पानी सङ्कलन गरी घरघरमा वितरण गरिएको हो। योजनाअन्तर्गत दुई हजार लिटरका दुई र चार तथा पाँच हजार लिटर क्षमताका दुई ट्याङ्की निर्माण गरिएको छन्त्यालले बताउनुभयो। योजना सम्पन्न भएपछि देउरालीखानीमा पर्याप्त खानेपानीको सुविधा उपलब्ध भएको उहाँको भनाइ छ।
वि.सं. २०५३ सालमा कादुरी संस्थाले निर्माण गरेको खानेपानी योजनाअन्तर्गत बनेका सामूहिक धाराबाट माझगाउँवासीले पानी उपभोग गर्दै आएका थिए। “योजना जीर्ण हुनु र सामूहिक धाराले उपभोक्तालाई असहज बनाएको थियो, अब घर–घरमा धारा बनेपछि पर्याप्त खानेपानी उपभोग गर्न पाएका छौँ,” समितिका सचिव जमुना छन्त्यालले भन्नुभयो।
खानेपानीको स्रोत नजिकै भए पनि सहज पहुँच नहुँदा समस्या भोग्दै आएका स्थानीयवासी घरघरमा धारा जडान भएपछि खुसी भएका छन्। आँगनमै धारा बनेपछि दैनिक उपभोग र वस्तुभाउलाई पानी खुवाउन समेत सहज भएको स्थानीयको भनाइ छ। सबै घरमा चौबीसै घण्टा फिल्टर गरिएको स्वच्छ खानेपानी उपलब्ध हुन थालेपछि गाउँमा ठुलो राहत मिलेको छ।
जनजातिको बाक्लो बस्ती रहेको देउरालीखानी अर्गानिक गाउँका रूपमा पनि परिचित छ। खानेपानी योजनाको दिगोपनाका लागि नगरपालिकाले निरन्तर साथ दिने जैमिनी नगरपालिकाका प्रमुख हरिहर शर्माले बताउनुभयो। “नागरिकको दुःखमा साथ दिन स्थानीय सरकार सधैँ तत्पर छ,” उहाँले भन्नुभयो, “सीमित स्रोतसाधनका बाबजुद पनि दुर्गम क्षेत्रका जनताको न्यूनतम आवश्यकता पूरा गर्न हामी प्रतिबद्ध छौँ।”