• १७ वैशाख २०८३, बिहिबार

सुनसरीमा बर्डफ्लूबाट ३० करोडभन्दा बढीको क्षति

blog

संक्रमित कुखुरा नष्ट गरिँदै। तस्बिरः बाबुराम कार्की

बाबुराम कार्की
वराहक्षेत्र, वैशाख १७ गते ।
बर्डफ्लू संक्रमणका कारण सुनसरीका २३ वटा फर्मका लेयर्स र ब्रोइलर कुखुरा नष्ट गरिएको छ। केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाद्वारा परीक्षण गर्दा रोग पुष्टि भएपछि ती फर्मका कुखुरा नष्ट गरिएको हो।

बर्डफ्लू संक्रमण देखिनासाथ उच्च सतर्कता अपनाउँदै कुखुरा फर्महरूमा कडा निगरानी गरिए पनि संक्रमण फैलिँदा ३० करोडभन्दा बढीको क्षति भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीका प्रमुख डा. मनोज महतोले बताउनुभयो। उहाँका अनुसार करिब एक महिनादेखि देखिएको संक्रमणका कारण कुखुरापालक किसानहरू ठूलो क्षतिमा परेका छन्। संक्रमित फर्मका कुखुरा क्रमशः नष्ट गरिँदै आएको उहाँले जानकारी दिनुभयो।

पशु सेवा विज्ञ केन्द्र सुनसरीका अनुसार सुनसरी पोल्ट्री फर्महरूमा रहेका करिब एक लाख ४५ हजार कुखुरा रोग पुष्टि भएपछि नष्ट गरिएको छ। हालसम्म लेयर्स दुई लाख १७ हजार, ब्रोइलर माउ १६ हजार ८५३, ब्रोइलर ४४ हजार ५५० तथा करिब दुई लाख २६ हजार ५३० अण्डा नष्ट गरिएको छ।

संक्रमण फैलिएका स्थानमा स्थानीय कुखुरा, हाँस, गिरिराज कुखुरा, टर्की, लेयर्स र ब्रोइलरका चल्ला, अण्डा, दाना, अण्डा राख्ने कार्टुन र क्रेटसमेत नष्ट गरिएको छ। संक्रमित फर्मका कुखुरा तथा प्रयोग सामग्री नष्ट गरेपछि फर्महरू सिल गरिँदै आएको जनाइएको छ।

सुनसरीको वराहक्षेत्र नगरपालिका–९ मा रहेको प्रकाशपुर कोशी कृषि तथा पोल्ट्री फर्ममा संक्रमण फैलिँदा १४ हजार ११७ लेयर्स कुखुरा, ९७ कार्टुन अण्डा, दाना, खाली कार्टुन र क्रेट नष्ट गरिएको छ, जसबाट करिब २ करोड रुपैयाँको क्षति भएको भेटेरिनरी अस्पताल सुनसरीले जनाएको छ।

त्यस्तै, वराहक्षेत्रकै ठाकुरबारीस्थित हाम्रो पोल्ट्री फर्ममा संक्रमण फैलिँदा १८ हजार १०० कुखुरा नष्ट गरिएको छ। सो फर्ममा करिब १ करोड ८५ लाख रुपियाँ बराबरको क्षति भएको सहायक पशु अधिकृत चिन्नेश्वर मेहताले बताउनुभयो।

पछिल्ला केही वर्षदेखि वराहक्षेत्र अण्डा र कुखुरा उत्पादनमा आत्मनिर्भर बन्दै आएको थियो। तर संक्रमणपछि कुखुरा र अण्डा उत्पादन ठप्प भएको छ। ब्रोइलर र लेयर्स कुखुरापालक किसानहरूको खोरसमेत रित्तिएको छ।