जनार्जन खत्री
सर्लाही, वैशाख १७ गते । सर्लाहीको लालबन्दी नगरपालिका–२, नवलपुर जुटपानीमा अवैध ढङ्गले गर्भपतन गराउने कार्यमा संलग्न एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनुषाको लक्ष्मीनिया गाउँपालिका–२, का ४५ वर्षीय लालबाबु राय यादव रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । यादवलाई म्याद थप गरी इलाका प्रहरी कार्यालय नवलपुरको हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले जानकारी दिनुभयो ।
कानुनमा महिलाले अधिकारप्राप्त स्वास्थ्य संस्थामा गएर १० हप्तासम्मको गर्भ हुँदा सुरक्षितरुपमा गर्भपतन गराउन सक्ने व्यवस्था छ । त्यसका लागि स्थानीय पालिका तथा स्वास्थ्य कार्यालयमा सम्वन्धित संस्था र गर्भपतन गराउने कार्यमा संलग्न स्वास्थ्यकर्मी सूचिकृत हुनुपर्ने कानुनी व्यवस्था छ ।
पक्राउ परेका यादवले भने कहिँकतै सूचीकृत नै नभइ नवजीवन विद्याश्रम माध्यमिक विद्यालय जुटपानी नजिक बोर्डधरी नराखी भाडाको घरमा अवैधरुपमा क्लिनिक सञ्चालन गरेर अवैध गर्भपतन गराउने गरेको पाइएको अनुगमनमा संलग्न स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा. नवलकिशोर झाले गोरखापत्रसँग बताउनुभयो । उहाँका अनुसार अवैधरुपमा सञ्चालित उक्त क्लिनिकभित्र गर्भपतन गराउन प्रयोग गरिने औजार तथा औषधीसमेत बरामद भएको छ ।
उक्त क्लिनिकलाई तत्काल सिल गरी सञ्चालक यादवलाई प्रहरी हिरासतमा लिइएको हो । जुटपानी क्षेत्रमा अवैध स्वास्थ्य संस्थाले गर्भपतन गराउने गरेको सूचना पाएपछि बुधबार सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे नेतृत्वको अनुगमन टोली अनुगमनका लागि पुगेको थियो ।
सहायक प्रजिअ घिमिरेले मुख्य बजारलाई छलेर भित्रपट्टी यसरी अवैधरुपमा गर्भपतन गराउने गरेको पाइएको बताउनुभयो । केही दिनदेखि निरन्तर स्वास्थ्य संस्थाको अनुगमनमा खटिनुभएका सहायक प्रजिअ घिमिरेले नवलपुर र मलङ्गवा क्षेत्र अवैध स्वास्थ्य संस्थाको ‘हब’ नै रहेको पाइएको बताउनुभयो ।
अनुगमन टोलीले लालबन्दी नगरपालिका–१, नवलपुर क्षेत्रमा १३ वटा स्वास्थ्य संस्थाको अनुगमन गरेको छ । त्यसक्रममा पाँचवटा स्वास्थ्य संस्था तथा औषधी पसल सिल गरिएको, एउटालाई जरिवाना तिराइएको र दुईवटालाई सात दिने अल्टिमेटम दिइएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।