पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, वैशाख १७ गते । पश्चिम नवलपरासीमा प्रहरीले ठुलो परिमाणको महँगो लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । बिहीबार बर्दघाट नगरपालिका वडा नं. १० स्थित लण्डनब्रिज नजिकै रहेको ‘संगम रुफटप रेष्टुरेण्ट एण्ड खाजाघर’ बाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेहरूमा पश्चिम नवलपरासी बर्दघाट नगरपालिका वडा नं. १० बस्ने ६१ वर्षीय धनलाल चापागाईं र सुस्ता गाउँपालिका वडा नं. ५ थारुटोल बस्ने ३३ वर्षीय स्तकार हुसेन रहेका छन् ।
इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको विशेष टोलीले गोप्य सूचनाका आधारमा उक्त रेष्टुरेण्टमा खानतलासी गरेको थियो। सो क्रममा स्तकार हुसेनको साथबाट ४ प्याकेट ‘एमडी सिन्थेटिक ड्रग्स’ फेला परेको प्रहरीले जनाएको छ। बरामद गरिएको उक्त लागुऔषधको कुल तौल २०८ ग्राम १६० मिलिग्राम रहेको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बीर दत्त पन्तका अनुसार पक्राउ परेका दुवै जनालाई जिल्ला अदालतबाट लागुऔषध सम्बन्धी कसूरमा म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको छ ।नेपालमा पछिल्लो समय ‘एमडी’ जस्ता महँगा सिन्थेटिक लागुऔषधको कारोबार बढ्दै जानु चिन्ताको विषय बनेको छ ।