• १७ वैशाख २०८३, बिहिबार

अभियान गाउँमा, भर्ना सहरमा

blog

शैक्षिक सत्र २०८३ का लागि नयाँ भर्ना अभियान । तस्बिर : शेरबहादुर सार्की

बाजुरा समाचारदाता

बाजुरा, वैशाख १७ गते । बाजुराका विभिन्न विद्यालले भर्ना अभियान सुरु गरेका छन् । नयाँ शैक्षिक सत्र २०८३ का लागि यहाँका विद्यालयले नयाँ भर्ना अभियान सुरु गरेका हुन् । विद्यालयले नयाँ भर्नाका लागि अभियान सुरु गरे पनि यहाँका बालबालिका भने बर्सेनि नयाँ भर्ना हुनका लागि धमाधम सहरतिर झर्न थालेका छन् । पहिले गाउँमा उच्च शिक्षा पढ्ने विद्यालय थिएन । त्यसैले यहाँका बालबालिकाले कक्षा १ देखि १० सम्म गाउँका विद्यालयमा पढ्ने र त्यसपछि मात्र उच्च शिक्षा पढ्नका लागि सहरतिर जाने गर्थे । 

अहिले स्थानीय सरकारले यहाँका बालबालिकालाई पढ्न सहज हुने गरी गाउँमै उच्च मावि, क्याम्पसलगायतका शैक्षिक संस्था स्थापना गरेका छन् तर यहाँका बालबालिका भने सहरकेन्द्रित हुने गरेका छन् । बुढीगङ्गा नगरपालिका–७, झालीका स्थानीय सुरज सार्कीले, गाउँका विद्यालयमा पढाइ राम्रो नभएकाले आफूले बालबालिकालाई सहरको विद्यालयमा भर्ना गरेको बताउनुभयो ।

उहाँले भन्नभुयो, “अहिले जहाँ काम गर्न गए पनि अङ्ग्रेजी भाषा जान्नै पर्ने हुन्छ । त्यसका लागि निजी विद्यालय राम्रा होलान् भनेर दुई छोराछोरी त्यतै भर्ना गरेको छु ।” उहाँले आफ्नो छोरालाई कक्षा ४ सम्म शारदा मावि बड्डेलीमा पढ्न पठाउँदा उसको पढाइमा चित्त बुझ्दो नभएकाले कैलालीको अत्तरियामा रहेको विद्यालयमा पढ्न पठाएको बताउनुभयो । 

पहिला यहाँ एक गाविसमा एउटा मात्र मावि थियो । कोल्टी, मार्तडी, कुलदेवमाडौँ गरी तीन वटा उच्च मावि थिए । अहिले एकै वडामा दुई÷तीन मावि सञ्चालन गरिएका छन् । ती विद्यालयको पूर्वाधार पनि राम्रो छन् । स्थानीय सरकारले ती विद्यालयको गुणस्तरीय शिक्षाका लागि शिक्षकको पनि व्यवस्था गरेको छ तर पनि यहाँका बालबालिका सहरकेन्द्रित हुने गरेका छन् । 

गत वर्षको भर्ना अभियानमा यहाँका बुढीगङ्गा, त्रिवेणी, खप्तडछेडेदह, बडीमालिका, हिमाली, गौमुल स्वामिकार्तिक खापर, जगन्नाथलगायतका पालिकाबाट धेरै बालबालिका सहरमा भर्ना भएका थिए । यो वर्षमा पनि त्यसै गरी बालबालिका पढ्नका लागि सहर झरेका छन् । 

स्थानीय सरकारले कार्यकर्ता पालनपोषणका लागि तथा आफ्नालाई रोजगार दिने गरेर गाउँमा विद्यालय निर्माणका लागि योजना दिने गरेको भए पनि ती विद्यालयमा पढाइ भने निकै कमजोर हुँदै गएको स्थानीयले गुनासो गर्दै आएका छन् । 

बढीगङ्गा नगरपालिकाका प्रमुख राबबहादुर बानियाँले यहाँका बासिन्दा वैदेशिक रोजगारीमा गएकाले उनीहरूले आफ्ना बालबालिकाको पढाइ राम्रो बनाउने भन्दै गाउँका विद्यालय छाडेर सुविधायुक्त ठाउँमा लिने गरेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “अहिले पालिकाले पनि गाउँका विद्यालयलाई पहिलाभन्दा निकै परिवर्तन गर्दै आएको छ तर पनि यहाँका कतिपय विद्यालयमा अझै पनि भने जस्तो शैक्षिक गुणस्तर वृद्धि हुन सकेको छैन् ।”

शिक्षकको दरबन्दी पूरा नभएको नगरप्रमुख बानियाँले बताउनुभयो । बाजुरामा कक्षा १ देखि ३ सम्म २२८, ४ देखि ५ सम्म १७६, ६ देखि ८ सम्म ११२, ९ देखि १० सम्म ६७, ११ देखि १२ सम्म २९ र चार वटा क्याम्पसमा गरेर ६१५ विद्यालय सञ्चालनमा रहेको शिक्षा विकास तथा समन्वय एकाइ बाजुराका सूचना अधिकारी लालबहादुर विष्टले जानकारी दिनुभयो ।