• १७ वैशाख २०८३, बिहिबार

एकतामा निहित शक्ति

blog

‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ अर्थात् आमा र जन्मभूमि स्वर्गभन्दा प्यारा हुन्छन् । व्यक्तिभन्दा राष्ट्र ठुलो हुन्छ । राष्ट्रको इज्जत, प्रतिष्ठा र अस्तित्वसँग हाम्रो इज्जत, प्रतिष्ठा र अस्तित्व जोडिएको हुन्छ । राष्ट्र र राष्ट्रियता नै हाम्रो ढुकढुकी हो, सर्वस्व हो । कर्तव्य हामीले आफ्नोतर्फबाट गर्नुपर्ने काम हो । हरेक मानिसको विभिन्न क्षेत्रमा आफ्नो कर्तव्य हुन्छ । कर्तव्यमा रहनु र कर्तव्य बोध हुनु फरक कुरा हुन् । मूलतः हाम्रो परिवार, समाज र राष्ट्रप्रति कर्तव्य हुन्छ । यी सबैखाले कर्तव्यमध्ये सर्वाधिक महत्वपूर्ण कर्तव्य देशप्रतिको कर्तव्य हुन आउँछ ।  

शिक्षित, पठित, सचेत नागरिक र युवा नै देशप्रतिको कर्तव्यबाट पछि हट्न खोजे भने राष्ट्र यथास्थितिबाट माथि उठ्न सक्तैन । ‘देशभक्ति त मर्दैन चुत्थै देश भए पनि’ भन्ने बालकृष्ण समको उक्ति हो । देश दयनीय आर्थिक अवस्थाबाट गुज्रेको छ । देशमा अभाव, गरिबी, अशिक्षा र अचेतना व्याप्त छ । विकासनिर्माणको क्षेत्रमा पनि देश पिछडिएको छ । हाम्रो देशले अझै विकासको गति लिन सकेको छैन । सम्पत्ति शुद्धीकरणमा देश ‘ग्रे लिस्ट’ मा परेको छ । देशभित्रका यस्ता विकृति विसङ्गति हटाउन सकिएको छैन । दुव्र्यसनका कारण युवा बर्बादीतर्फ धकेलिएका छन् । देश निर्माणको अभिभारा लिएका नेता भ्रष्टाचारमा डुबेको खबर पढ्नु परेको छ । हिजोका दिनमा नेताहरूको देशसेवा र जनसेवाको नारा हात्तीको देखाउने दाँत जस्तो भएको यतिखेर छर्लङ्ग भएको छ । 

राणाहरूले १०४ वर्षसम्म देशको रस चुसेर खोक्रो तुल्याए । ३० बर्से पञ्यायत व्यवस्थामा खुला समाज विकसित हुन सकेन । २०४६ सालमा प्रजातन्त्र पुनस्र्थापना भए पनि नेपाली जनताले राहतको सट्टा आहत मात्र पाए । मुलुकमा विदेशी ऋण दिनप्रतिदिन बढिरहेको छ । विदेशी अनुदान र ऋण बालुवामा खन्याएको पानी जस्तो भएको छ । जुन लक्ष्य प्राप्तिका लागि सहिदहरूले जीवनोत्र्सग गरे, त्यो रत्तिभर प्राप्त हुन सकेको छैन । प्रजातन्त्रका सेनानी राष्ट्रका सच्चा पहरेदार सहिदहरूको अपमान भएको छ ।  चेलीबेटी बेचबिखन जस्तो सामाजिक अपराध एवं घृणित कार्य गर्नेलाई कडा सजाय गर्न सकिएको छैन । गैरकानुनी बाटोबाट कालो धन कुम्ल्याउने र रातारात करोडपति बन्ने निकृष्ट सोच भएकालाई नयाँ सरकारले कारबाही गर्ने भनेको त छ तर यो कुन रूपमा अगाडि बढ्छ, हेर्न बाँकी छ । राजनीतिक संस्कार र प्रजातान्त्रिक मूल्यमान्यता धराशायी बनेका छन् । यी समस्या विगतका नेताहरूको कुर्सीमोह, फोहोरी खेल र राजनीतिक दाउपेचका उपज हुन् । यसको उपयुक्त समाधान खोज्नु नयाँ सरकारको दायित्व हो  । यी समस्यासँग लड्न र समाधानका दिशामा सशक्त ढङ्गले पाइला चाल्न आवश्यक छ । यस कठिन घडीमा युवा रमिते बनेर बस्नु हुँदैन । यी  चुनौतीसँग लड्न, समस्यासँग जुध्न र समाधानको खोजीमा लाग्ने अठोट लिई अदम्य साहसका साथ अघि बढ्नु नयाँ दलका नेताहरूको प्रमुख कर्तव्य पनि हो । 

नेपाल प्राकृतिक सम्पदाको धनी देश हो । यहाँको प्राकृतिक स्रोत जस्तै– जलस्रोत,  खनिज, वन, जडीबुटीलाई अधिकतम उपयोग गर्दै देशलाई विकासको पथमा अघि बढाउन सकिन्छ । यस्तै विकासको अर्को आधार पर्यटन हो । बर्सेनि लाखौँ पर्यटकलाई देशमा स्वागत गरी देशको आर्थिक विकास गर्न सकिन्छ । अर्को कुरा, नेपाल गाउँ नै गाउँले भरिएको देश हो । गाउँको उन्नति नभएसम्म मुलुकको उन्नति सम्भव छैन । हाम्रा अधिकांश गाउँमा विकासका सम्भावना छन् तर उपयुक्त नेतृत्व नहुँदा त्यहाँ बस्ने जनताले विकासका मिठा र स्वादिला फल चाख्न पाएनन् । बालेन सरकार गठन भएपछि सबैतिर आशाका किरण भने देखिएका छन् । पक्कै पनि देशका हरेक गाउँमा मोटरबाटो, बिजुली, अस्पताल, स्कुल, कलेज, उद्योग, व्यवसाय,  कलकारखाना सञ्चालन गरी मुलुक र मुलुकवासीको भविष्य अब सुनिश्चित हुने आशा गर्न सकिन्छ । मेचीदेखि महाकालीसम्म छरिएर रहेका हरेक नेपालीको पहुँचसम्म विकासको फल पु¥याउनु नयाँ सरकारको जिम्मेवारी हो । 

राष्ट्रिय अर्थतन्त्रको बलियो जगका रूपमा रहेका उद्योग कलकारखाना हिजोका दिनमा बन्द गरियो । हजारौँलाई रोजागारी दिएका यस्ता कलकारखानाका जग्गाजमिन र सम्पत्ति कौडीको भाउमा बेचियो । यसले नेपाली युवा बेरोजगार बन्न पुगे । विकल्पमा वैदेशिक रोजगारीमा जानु उनीहरूको बाध्यता बन्यो । ज्यालामजदुरी गरेर खाने निम्नवर्गका व्यक्ति त झन् कष्टकर जीवन जिउन बाध्य भए । त्यसैले सर्वप्रथम कृषि पेसामा आश्रित परिवारजनको आर्थिक विकासका लागि राज्यले ध्यान दिनु पर्छ । कुलो, नहर, पुलपुलेसा, बाटोघाटो निर्माण गरिदिनु पर्छ । पुर्खाको नासो यो राष्ट्र बचाउन हामी सबैले आआफ्ना ठाउँबाट प्रयास र प्रयत्न गर्नु पर्छ । भोक, रोग, गरिबी, अशिक्षा र अचेतना हटाउनु पर्छ । यस अभियानलाई सफल बनाउने कर्तव्य भने नेतृत्व तहको हो । हाम्रो अपार जल सम्पदालाई सिँचाइ र विद्युत्का क्षेत्रमा उपयोग गर्नु पर्छ । बिजुली बत्तीले नेपालका गाउँघर झिलिमिली पार्नु पर्छ । अमूल्य जडीबुटीको प्रयोग गर्नु पर्छ । जडीबुटीको चोरी निकासी रोक्नु पर्छ । आय ‘खाडीमा छैन, नेपालकै झाडीमा छ’ भन्ने कुरा सम्झनु पर्छ । युवालाई बुझाउनु  पर्छ । खानी भएका ठाउँमा सम्भाव्यता अध्ययन गर्ने र खानीको उपयोग गरी राष्ट्रको विकास गर्नु पर्छ । भ्रष्टाचार गर्नेलाई निर्मम भएर कारबाही गर्नु पर्छ । काँधमा जिम्मेवारी, मस्तिष्कमा समझदारी र हृदयमा इमानदारी भएर काम गर्ने वातावरण बनाउन नयाँ सरकारले सुरुवात गर्नु पर्छ । नेपाली नेपालीबिच कुनै किसिमको मनमुटाव हुन दिनु हुँदैन । सबै नेपालीलाई एकताको सूत्रमा उन्नु पर्छ । यही एकताले नै हाम्रा अभाव, गरिबी, अशिक्षा र अचेतना हटाउँछ ।