• १७ वैशाख २०८३, बिहिबार

बस्तीका हरेक घरमा धारा

blog

तम्घास समाचारदाता

तम्घास (गुल्मी), वैशाख १७ गते । गुल्मीको कालीगण्डकी गाउँपालिकाका माथिल्लो बस्तीमा ‘एक घर एक धारा’ को सपना पूरा हुने चरणमा रहेको छ । भौगोलिक रूपमा विकट रहेको कालीगण्डकी गाउँपालिका–१, हर्मीचौरको माथिल्लो बस्ती र वडा नं. २ को माथिल्लो कोट बस्तीका लागि ‘एक घर एक धारा’ को सपना लामो समयपछि पूरा हुन लागेको हो । दशकौँदेखि खानेपानीका लागि समस्या झेल्दै आएका त्यस बस्तीका नागरिक गाडीमा पानी ढुवानी गरी पिउन बाध्य थिए । 

खानेपानी तथा सरसफाइ कार्यालय गुल्मीका सुधीर पोखरेलका अनुसार अहिले खानेपानी पाइप विस्तार गर्ने कार्य भइरहेको बताउनुभयो । उक्त बस्तीका १२० घरपरिवारलाई ‘एक घर एक धारा’ वितरण गर्ने उद्देश्य अनुरूप सुरु गरिएको यो आयोजनाको करिब ९० प्रतिशत काम सम्पन्न हुने चरणमा रहेको उहाँको भनाइ छ । 

गत वर्ष डोटनेरीखोलाबाट शिरकोटमाथि पानी तान्ने काम सम्पन्न भएको थियो । उक्त बस्तीका लागि ‘एक घर एक धारा’ का लागि हालसम्म करिब दुई करोड रुपियाँ खर्च भएको पोखरेलले बताउनुभयो । अर्वेनीकोटका स्थानीय खिमानन्द न्यौपानेले १० वर्षअगाडिदेखि खानेपानीको समस्या समाधान गर्ने भन्दै आए पनि अझै पूरा हुन सकेको छैन । स्थानीय सरकार र प्रदेश सरकारले कनिका छरे जस्तो गरी थोरै रकम विनियोजन गर्ने प्रवृत्तिले गर्दा पनि यो आयोजना सम्पन्न हुन केही समय लागेको हो ।