रवीन्द्र उप्रेती
बर्दीबास, चैत ४ गते । बर्दिबास नगरपालिका –३ गौरीडाँडास्थित बीपी राजमार्गमा प्रहरीले ठूलो परिमाणको नियन्त्रित लागुऔषध ब्राउन सुगरसहित चार जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले विशेष सूचनाको आधारमा बर्दिबासबाट काठमाडौँतर्फ जाँदै गरेको प्रदेश–०२–०१–००१ च ०४४१ नम्बरको निजी स्कार्पियोबाट उक्त परिमाणको लागुऔषध बरामद गरेको हो ।
विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासका पहरी नायव निरीक्षक सरोजकुमार अधिकारी र इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी. विकास बमको संयुक्त कमाण्डमा खटिएको ट्राफिकसहितको टोलीले गौरीडाँडास्थित अस्थायी ट्राफिक प्रहरी पोष्ट अगाडि गए राति करिव सवा १० बजेतिर तलासी लिएको थियो ।
तलासीको क्रममा स्कार्पियोमा सवार नुवाकोट सूर्यगढी गाउँपालिका –४ का ३१ वर्षीय अविरल परियारको दाहिने हातको मुठ्ठीमा कालो प्लास्टिकभित्र सेतो प्लास्टिकमा लुकाइ राखिएको अवस्थामा ब्राउन सुगर फेला परेको थियो ।
बरामद लागुऔषध मान्यताप्राप्त तराजुमा तौल गर्दा प्लास्टिकसहित ७५ ग्राम र शुद्ध तौल ७१.०४ ग्राम रहेको लागुऔषध नियन्त्रण व्युरो प्रमुख अधिकारीले जनाउनुभयो । बरामद ब्राउन सुगर राजधानी काठमाडौंको वजार मूल्यअनुसार करिव १३ देखि १५ लाख रुपियाँ वरावर रहेको स्रोत छ ।
सुरक्षा टोलीले सिरहा मिर्चैया नगरपालिका –८ का २१ वर्षीय गाडी चालक मुरलीकुमार रायसहित सोही गाडीमा सवार सिराहा मिर्चैया नगरपालिका –१ का २४ वर्षीय रमण घिमिरे र मिर्चैया नगरपालिका –७ घुर्मीका १९ वर्षीय सुनिल पटेललाई नियन्त्रणमा लिएको छ ।
पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय बर्दिबास बुझाइएको जनाएको छ ।