राजु लामिछाने
रुकुमपश्चिम, चैत ४ गते । रुकुमपश्चिमस्थित सुरक्षा निकायका प्रमुखहरूलाई सम्मान गरिएको छ । प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला सुरक्षा समितिका प्रमुख दिनेशप्रसाद थानीले विभिन्न चार सुरक्षा निकायका प्रमुखहरूलाई प्रशंसापत्रसहित सम्मान गर्नुभएको हो ।
फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सम्पन्न गराउन विभिन्न तवरले उत्कृष्ट भूमिका निर्वाह गरेको भन्दै उहाँहरूलाई सम्मान गरिएको हो । प्रजिअ थानीले चण्डीदल गणका गणपति प्रमुख सेनानी बिनिश श्रेष्ठ, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेल, सशस्त्र प्रहरी बल नेपाल ४७ नं. गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक जगदिशचन्द्र हमाल र राष्ट्रिय अनुसन्धान विभाग जिल्ला कार्यालयका प्रमुख अनुसन्धान अधिकृत नेवबहादुर रानालाई सम्मान गर्नुभएको हो ।
उहाँहरूलाई प्रशंसापत्र र दोसल्लाले सम्मान गरिएको छ । निर्वाचनमा रुकुमपश्चिम पनि संवेदनशील जिल्लाको रूपमा रहेको थियो । सुरक्षा समितिका सदस्यहरूको निरन्तरको क्रियाशीलता, उत्कृष्ट जिम्मेवारी बहनका कारण निर्वाचन पूर्ण रूपमा सफलतापूर्वक सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी थानीले जनाउनुभयो ।
उहाँले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष तथा भयरहित वातावरणमा सफलतापूर्वक सम्पन्न गराउन सुरक्षा निकायका प्रमुखहरूले उल्लेखनीय भूमिका निर्वाह गरेको बताउनुभयो । निर्वाचनमा उच्च व्यावसायिकता प्रदर्शन गरी, पूर्ण अनुशासित भई आफ्नो पदीय जिम्मेवारीप्रति समर्पित रही, प्रशासन र अन्य सुरक्षा निकायसँग प्रभावकारी समन्वय गरेर समग्र सुरक्षा व्यवस्थापनमा उत्कृष्ट कार्य सम्पादन गर्नुभएकोमा उहाँहरूको योगदानको उच्च कदर गरेर प्रशंसापत्र प्रदान गरिएको उहाँले उल्लेख गर्नुभयो ।
यसअघि जिल्ला प्रहरी कार्यालयले पनि विभिन्न दर्जाका २४ जना प्रहरी कर्मचारीलाई प्रशंसापत्र प्रदान गरेको थियो । निर्वाचनमा उत्कृष्ट भूमिका निर्वाह गर्ने कर्मचारीलाई प्रशंसापत्रले सम्मान गरिएको प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो ।