• ३ चैत २०८२, मङ्गलबार

कठिन अवस्थामा निर्वाचन नै निकासको विकल्प : प्रधानमन्त्री

निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सहयोग गरेकोमा एमालेको प्रशंसा

blog

प्रधानन्त्री सुशीला कार्कीसँगको भेटपछि एमाले नेता । तस्बिरः प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौँ, चैत ३ गते । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सहयोग गरेकोमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) लाई धन्यवाद दिनुभएको छ । प्रधानमन्त्री कार्कीले धन्यवाद ज्ञापन गर्न एमाले नेतृत्वलाई बालुवाटार आमन्त्रण गर्नुभएको थियो । जसअनुसार एमाले नेतात्रय ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र महेश बर्तौला बालुवाटार पुग्नुभएको थियो ।

प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण वातावरणमा निर्वाचन सफल पार्न भूमिका खेलेको भन्दै एमाले नेतृत्वप्रति आभार व्यक्त गर्नुभएको हो । उहाँले भन्नुभयो, “यो कठिन अवस्थालाई शान्तिपूर्ण रूपमा निकास दिने एक मात्र विकल्प निर्वाचन नै थियो । राष्ट्रप्रतिको जिम्मेवारी सम्झेर यहाँहरूले जुन सहयोगी भूमिका खेलिदिनुभयो र निर्वाचनमा सक्रिय सहभागिता जनाइदिनुभयो, यसका लागि मुरीमुरी धन्यवाद दिन चाहन्छु ।”

उहाँले निर्वाचनमा जित–हार भइरहने भएकाले एकपल्टको जनादेशबाट विचलित नहुन भन्दै एमाले नेतृत्वलाई सान्त्वना दिनुभयो । उहाँले भन्नुभयो, “एकैपटकको जनमतले सधैँका लागि पार्टीहरूको हैसियत निर्धारण गर्दैन । भारतमा अटलविहारी वाजपेयी र इन्दिरा गान्धीका पालामा उहाँहरूका पार्टीले बेहोरेको उतारचढाव पनि देखेकै छौँ । राजनीति निरन्तरको अभियान भएकाले देश र जनताका मुद्दा बोकेर लागिरहनुहोस् ।”

एमाले नेताले पनि सबै पक्षको चित्त बुझाउँदै शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराएकोमा प्रधानमन्त्री कार्की र उहाँ नेतृत्वको सरकारलाई बधाई दिनुभयो । मुलुकलाई कठिन घडीमा नेतृत्व प्रदान गरी सर्वस्वीकार्य, शान्तिपूर्ण र लोकतान्त्रिक निकास दिएकामा उहाँहरूले सरकारलाई धन्यवाद दिनुभयो ।

उहाँहरूले यसपालिको निर्वाचनमा प्रशासनको निष्पक्षता रहेको भन्दै सरकारको प्रशंसा पनि गर्नुभयो । साथै यसपालिका चुनावी अभियान विगतभन्दा बढी स्वस्थ, शान्तिपूर्ण र कम खर्चिलो भएको अनुभव पनि नेताहरूले सुनाउनुभयो ।

यसअघि प्रधानमन्त्री कार्की आइतबार पितृशोकमा रहनुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उहाँको गुण्डुस्थित निवासमै पुग्नुभएको थियो ।