• १ वैशाख २०८३, मङ्गलबार

नयाँ वर्षमा स्वयम्भूमा पर्यटकको चहलपहल (फोटो फिचर)

blog

काठमाडौँ, वैशाख १ गते । काठमाडौँको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल स्वयम्भूनाथ क्षेत्रमा पछिल्लो समय भक्तजन र पर्यटकको घुइँचो बढ्न थालेको छ । विश्व सम्पदा सूचीमा सूचीकृत यस पवित्र स्थलमा दैनिक हजारौँको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक अवलोकन र पूजाआजाका लागि पुग्ने गरेका छन् ।

कोही शान्तिको कामना गर्दै दीप प्रज्ज्वलन गरिरहेका भेटिन्छन् भने कोही गुरुहरूबाट आशीर्वाद लिँदै टीका ग्रहण गरिरहेका देखिन्छन् । स्वयम्भूको मुख्य स्तूप वरिपरि रहेका माने घुमाउँदै गरेका श्रद्धालु र विश्व शान्ति पोखरीमा सिक्का खसालेर मनोकाङ्क्षा पूरा हुने विश्वास राख्नेको दृश्यले यहाँको धार्मिक महत्त्वलाई थप प्रस्ट्याउँछ ।

यहाँका बाँदर र प्राकृतिक सौन्दर्यले आगन्तुकलाई विशेष आकर्षण प्रदान गरेको छ । विदेशी पर्यटकसमेत यहाँको आध्यात्मिक वातावरणमा मन्त्रमुग्ध भई ध्यान र प्रार्थना गरिरहेका देखिन्छन् । धार्मिक सहिष्णुताको प्रतीक मानिने स्वयम्भूमा हिन्दू र बौद्ध धर्मावलम्बीले समान आस्थाका साथ पूजापाठ गर्ने गर्दछन् । विशेषगरी नयाँ वर्ष र सार्वजनिक बिदाका दिनमा यहाँ दर्शनार्थीको चाप अत्यधिक हुने गरेको स्थानीय व्यवसायी बताउँछन् । स्वयम्भू क्षेत्रको यो चहलपहलले नेपालको पर्यटन क्षेत्र बिस्तारै लयमा फर्किँदै गरेको सङ्केत गरेको छ । तस्बिर: अनुप प्रधान/न्युज एजेन्सी नेपाल