गोरखापत्र अनलाइन
काठमाडौँ, चैत ४ गते । नेपाली सेनाले निर्वाचन आयुक्त सगुन शमशेर जबरालाई ‘सर्वोत्कृष्ट भूतपूर्व सैनिक सम्मान–२०८२’ प्रदान गरेको छ ।
नेपाली सेनाले बुधबार सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको विशेष कार्यक्रममा प्रधानसेनापति अशोकराज सिग्देलले उहाँलाई दाेसल्ला ओढाएर सम्मानपत्रद्वारा सम्मानित गर्नुभएको हो ।
नेपाली सेनाको महासेनानी दर्जाबाट सेवानिवृत्त भएपछि निर्वाचन आयुक्तको जिम्मेवारी सम्हाल्नुभएका जबरा यसरी सम्मानित हुने चौथो व्यक्ति हुनुहुन्छ ।
उहाँलाई प्रदान गरिएको सम्मानपत्रमा भनिएको छ, ‘‘गौरवमय इतिहास र परम्परा बोकेको पवित्र संस्था नेपाली सेनामा महासेनानी दर्जामा सेवारत रहँदासम्म तपाईंले राष्ट्र, नेपाली जनता तथा संस्थाप्रति सदैव वफादार रही सेवा प्रदान गर्नुका साथै सेवा निवृत्तिपश्चात् समेत नेपाली सेनाप्रति अटल विश्वास, आस्था एवं सद्भाव राख्नुभएकोमा धन्यवादको पात्र हुनुहुन्छ । तपाईंले निर्वाचन आयुक्तको गरिमामय पदमा नियुक्त भई निर्वाचन आयोगमार्फत सम्पादन हुने विविध कार्य, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा आयोगको प्रतिनिधित्व र निर्वाचनसम्बन्धी विभिन्न समितिको नेतृत्व गरी उत्कृष्ट कार्य सम्पादन गर्दै सम्पूर्ण भूतपूर्व सैनिकलाई प्रेरणा प्रदान गर्नुभई नेपाली सेनाको गौरव र छवि उच्च राख्न पुर्याउनुभएको उत्कृष्ट योगदानको मूल्याङ्कन गर्दै ‘सर्वोत्कृष्ट भूतपूर्व सैनिक सम्मान–२०८२’ प्रदान गरिएको छ ।’’