यज्ञप्रसाद सापकोटा
गुलरिया (बर्दिया), चैत ४ गते । हाल देखिएको ग्यासको चरम अभाव कम गर्नका लागि बर्दियाको राजापुर नगरपालिकाले अनुदानमा विद्युतीय चुलो वितरण सुरु गरेको छ ।
नगरपालिकाले उपभोक्तालाई अनुदानमा ग्यासकाे अभावमा वितरण गरिरहेको छ । नगरपालिकाले तीन हजार सात सय ६७ रुपियाँ पर्ने विद्युतीय चुलो उपभोक्तालाई ८ सय ६५ रुपियाँ लागतमा वितरण गरेको हो ।
उपभोक्ताले अनुदानमा विद्युतीय चुलोका लागि माग फारम भरेकालाई हस्तान्तरण गरिएको छ । नगरपालिकाले पहिलो चरणमा छ सय जना उपभोक्तालाई विद्युतीय चुलो वितरण गर्ने योजना राखेको प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढाले बताउनुभयो । पछिल्लो समय देखिएको ग्यास अभावको समस्याबाट प्रभावित नागरिकलाई सहजता प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।
नगर प्रमुख दिपेश थारूले विद्युतीय चुलो प्रयोगले घरायसी खर्च घट्नुका साथै आयातित इन्धनमा निर्भरता कम हुने बताउनुभयो । उहाँले देशको पैसा देशभित्रै राख्ने र वैकल्पिक ऊर्जाको प्रयोगलाई प्रवर्धन गर्ने लक्ष्यका साथ यस्तो अभियान अघि बढाइएको बताउनुभयो ।
विद्युतीय चुलो पाएपछि उपभोक्ताहरू खुसी देखिएका छन् । ग्यास अभावका कारण भोग्दैआएको समस्या समाधान हुने विश्वास व्यक्त गर्दै उनीहरूले यस कार्यक्रमले दैनिक जीवन सहज बनाउने बताएका छन् ।