• ४ चैत २०८२, बुधबार

ग्यास अभाव टार्न अनुदानमा विद्युतिय चुलो वितरण

blog

विद्युतिय चुलो वितरण गरिँदै ।

यज्ञप्रसाद सापकोटा

गुलरिया(बर्दिया), चैत ४ गते । हाल देखिएको ग्यासको चरम अभाव कम गर्नका लागि बर्दियाको राजापुर नगरपालिकाले अनुदानमा विद्युतिय चुलो वितरण सुरु गरेको छ । नगरपालिकाले उपभोक्तालाई ७८ प्रतिशत अनुदानमा ग्यासको चुलो वितरण गरिरहेको छ । 

नगरपालिकाले तीन हजार सात सय ६७ रुपियाँ पर्ने विद्युतिय चुलो उपभोक्तालाई ८ सय ६५ रुपियाँ लागतमा वितरण गरेको छ । उपभोक्ताले अनुदानमा विद्युतिय चुलोका लागि माग फारम भरेकालाई हस्तान्तरण गरिएको छ । 

नगरपालिकाले पहिलो चरणमा छ सय जना उपभोक्तालाई विद्युतिय चुलो वितरण गर्ने योजना राखेको प्रमुख प्रशासकिय अधिकृत दशरथ बुढाले बताउनुभयो । पछिल्लो समय देखिएको ग्यास अभावको समस्याबाट प्रभावित नागरिकलाई सहजता प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम गरिएको उहाँले बताउनुभयो । 

नगर प्रमुख दिपेश थारूले विद्युतिय चुलो प्रयोगले घरायसी खर्च घट्नुका साथै आयातित इन्धनमा निर्भरता कम हुने बताउनुभयो । उहाँले देशको पैसा देशभित्रै राख्ने र वैकल्पिक ऊर्जाको प्रयोगलाई प्रवर्धन गर्ने लक्ष्यका साथ यस्तो अभियान अघि बढाइएको बताउनुभयो । 

विद्युतिय चुलो पाएपछि उपभोक्ताहरू खुसी देखिएका छन् । ग्यास अभावका कारण भोग्दै आएको समस्या समाधान हुने विश्वास व्यक्त गर्दै उनीहरूले यस कार्यक्रमले दैनिक जीवन सहज बनाउने बताएका छन् ।