चन्द्र पन्दाक
ताप्लेजुङ, चैत ४ गते । ताप्लेजुङमा आर्थिक गणना कार्यालय स्थापना गरिएको छ । सदरमुकाम फुङ्लिङस्थित हुलाक लाइनमा जिल्ला आर्थिक गणना कार्यालय स्थापना गरी मङ्गलबारदेखि सेवा प्रारम्भ गरिएको हो ।
जिल्ला आर्थिक गणना अधिकारी जीतेन्द्र बैठाले आर्थिक गणना कार्यालय स्थापना भएसँगै सेवा प्रारम्भ एको जानकारी दिनुभयो । जिल्ला आर्थिक गणना कार्यालयमा तीन जना सुपरिवेक्षक र १८ जना गणकसहितका जनशक्ति कार्यरत रहने पनि गणना अधिकारी बैठाले जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रीय तथ्याङ्क विभागमार्फत छनोट भएका सुपरिवेक्षक तथा गणक जिल्ला तहको जिम्मेवारीमा आउनुभएको हो ।
ताप्लेजुङका लागि छनोट भएका सुपरिवेक्षक र गणकलाई चैत अन्तिम साता अभिमुखीकरण तालिम प्रदान गरिने र उनीहरूलाई जिल्लाका स्थानीय तहहरूमा खटाउने जिल्ला आर्थिक गणना कार्यालयले जनाएको छ । जिल्ला आर्थिक गणना अधिकारी बैठाका अनुसार स्थानीयमा खटिने सुपरिवेक्षक तथा गणकले स्तरीयस्तरमा आर्थिक वस्तुस्थितिको गणना अर्थात तथ्याङ्क सङ्कलन छन् ।
‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ भन्ने नारासहित नेपालमा आर्थिक गणना हुन लागेको हो । नेपालमा पहिलोपटक २०७५ साल वैशाखमा आर्थिक गणना भएको थियो । पुनः दोस्रोपटक आर्थिक गणना कार्यालय स्थानपना गरी आर्थिक विवरणसँगै उद्योगहरूबाट भएका उत्पादनसम्मको विवरण समावेश अर्थात सङ्कलन गर्न लागिएको छ ।
आर्थिक गणना अभियानमार्फत नेपालमा उद्योगको अवस्था, रोजगारी सिर्जनाको अवस्था लगायतका विषय हेरिने छ । राष्ट्रिय आर्थिक गणनाबाट उद्योग, व्यापार, व्यवसाय, सेवा क्षेत्र, सहकारी तथा निजी सार्वजनिक संस्थाहरूको सङ्ख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहसम्बन्धी विवरण सङ्कलन गर्ने योजना अघि बढाइएको छ ।
आर्थिक गणना कार्यालय स्थापना कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी यादव भट्टराई, जिल्लास्थित प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतम, जिल्ला न्यायाधिवक्ता मदन न्यौपाने, कोष नियन्त्रक यमनाथ गिरी लगायतको उपस्थिति रहेको थियो । आर्थिक गणना कार्यालय स्थापना भएसँगै गणना कार्यालयको उद्देश्यबमोजिम कार्यसम्पादन हुनेमा सरोकारवालाले विश्वास व्यक्त गरेका छन् ।