शङ्कर केसी
सल्यान, चैत ३ गते ।सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगर क्षेत्रमा अब जथाभाबी र अव्यवस्थित पार्किङ गर्ने सवारी साधनलाई दुई हजार ५०० रुपियाँसम्म जरिवाना गरिने भएको छ ।
जिल्लाको शारदा नगरपालिका र सल्यानमा सञ्चालित विभिन्न यातायात व्यवसायीबिचको बैठकले यस्तो निर्णय गरेको हो ।
निर्णय अनुसार बसपार्क बाहेक अन्य स्थानबाट यात्रुबाहक सवारी साधन सञ्चालन गरेको वा त्यस्तो कार्यलाई प्रोत्साहन गरेमा सम्बन्धित सवारी साधनलाई दुई हजार रुपियाँ जरिवाना गरिने छ ।
त्यस्तै बसपार्क बाहेक अन्य क्षेत्रमा अव्यवस्थित रूपमा पार्किङ गरेको पाइएमा दुई हजार ५०० रुपियाँ जरिवाना असुल गरिने छ ।श्रीनगर क्षेत्रभित्र सञ्चालन हुने बस, अटो रिक्सा तथा साना भ्यान जस्ता सम्पूर्ण यात्रुबाहक सवारी साधन अनिवार्य रूपमा आधुनिक बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ ।
उक्त निर्णय यही चैत ५ गतेदेखि लागु हुने नगरपालिकाले जनाएको छ । सम्बन्धित यातायात व्यवसायी तथा प्रालिहरूले सो निर्णयको कार्यान्वयनमा आवश्यक सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
बसपार्क भित्र सवारी साधन प्रवेश तथा पार्किङका लागि शुल्क पनि निर्धारण गरिएको छ । जस अनुसार यात्रुबाहक बसका लागि १५०, जिप तथा भ्यानका लागि १०० र अटो रिक्साका लागि ३० रुपियाँ शुल्क तोकिएको छ ।
दाङ, नेपालगन्ज, रुकुम र काठमाडौँबाट आउने सवारी साधनले तिरेको गेटपास शुल्कको रसिद एकोहोरो रुटका लागि २४ घण्टासम्म मान्य रहने व्यवस्था गरिएको छ । शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीले श्रीनगरको बसपार्कलाई व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो ।
उहाँले बसपार्क जिल्लाको गौरवको आयोजना भएकाले यसको निर्माणसँगै प्रभावकारी सञ्चालनमा जोड दिनुपर्ने धारणा राख्नुभयो । बसपार्कको व्यवस्थापनमा यातायात व्यवसायीको महत्त्वपूर्ण भूमिका रहने भन्दै सल्यान रुकुम यातायात प्रालिका अध्यक्ष अरबिन्दकुमार राईले आफूहरू यसप्रति प्रतिबद्ध रहेको बताउनुभयो ।
उहाँले व्यवसायीको पेसागत सुरक्षा र यात्रुमैत्री वातावरण निर्माणका लागि सहकार्य गर्न तयार रहेको पनि उल्लेख गर्नुभयो । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक पूर्ण केसीले बसपार्क भित्रबाट सवारी साधनलाई व्यवस्थित रूपमा सञ्चालन गराउन नियमित अनुगमन गरिने जानकारी दिनुभयो ।